corona

दक्षिण कोरियामा पनि कोरोना सङ्क्रमितको मृत्यु

Health-Education

दक्षिण कोरियामा कोरोना भाइरसबाट सङ्क्रमित भएका पहिलो व्यक्तिको मृत्यु भएको छ। स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार बिहीबार ती व्यक्तिको मृत्यु भएको पुष्टि भएको हो।

सङ्क्रमितको मृत्यु भएसँगै दक्षिण कोरियामा पनि कोरोना भाइरसको चुनौती र त्रास थपिएको छ। अधिकारीहरुले देशभर झण्डै १०० जनामा कोरोना भाइरसको सङ्क्रमण भएको हुनसक्ने अनुमान गरेका छन् । बिहीबार निधन भएका व्यक्ति झण्डै ६० वर्षका पुरुष हुन्। उनी लामो समयदेखि अस्पतालमा उपचार गराइरहेका १५ बिरामीमध्येका व्यक्ति भएको बताइएको छ।

उनीहरुलाई देशको राजधानी सोलदेखि ३२० किलोमिटर टाढा पर्ने चेओङडोमा रहेको अस्पतालमा उपचार गराइएको थियो। दक्षिण कोरियाको रोग नियन्त्रण तथा निवारण केन्द्रद्धारा जारी वक्तव्यमा कोरोना भाइरसको सङ्क्रमण भएको आशङ्का गरिएका सबैको स्वास्थ्यपरीक्षण भइरहेको उल्लेख छ ।

यसैबीच दक्षिण कोरियाली डाइगुका मेयर क्वोन योङ–जीनले नगर क्षेत्रमा प्राणघातक कोरोना जीवाणुको सङ्क्रमण देखिन थालेको भन्दै नगर क्षेत्रका २५ लाख मानिसलाई घरभित्रै बस्न बिहीबार आग्रह गरेका छन्। उनले कोरोना विरुद्ध लड्न केन्द्रीय सरकारसँग आग्रह पनि गरेका छन् ।

दक्षिण कोरियाको दक्षिणपूर्वमा रहेको यस डाइगु नगर क्षेत्रमा बिहीबार मात्र थप ३५ जनामा कोरोना जीवाणुको सङ्क्रमण देखिएको थियो। टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको पत्रकार सम्मेलनमा मेयर क्वोनले सम्भव भए घरभित्र पनि मास्क लगाएर बस्न आग्रह गरेका हुन्।

कोरियाली सङ्क्रामक रोग नियन्त्रण एवं रोकथाम केन्द्र (केसीडीसी) ले ३५ जना नयाँ बिरामीमध्ये २८ जना हालैमात्र चर्चमा गएका व्यक्ति रहेको जनाएको छ। उक्त चर्चमा एक जना कोरोना सङ्क्रमित व्यक्ति पनि सहभागी भएका थिए। केसीडीसीका अधिकारीहरुले विदेश भ्रमण नगरेकी ६० वर्ष हाराहारीकी ती दक्षिण कोरियाली महिलामा कोरोना सङ्क्रमण देखिएको थियो।