दक्षिण कोरियाको सिञ्चेओन्जी चर्चका पादरीहरुले कोरोना संक्रमितको नाम लुकाउँदा कैयौंको मृत्यु भएको खुलेको छ। सरकारले धार्मिक सम्प्रदायका नेताहरुमाथि अनुसन्धान थालेको छ। आफूलाई जिसस क्राइष्टको दोस्रो अवतार घोषणा गरेका ८८ बर्षीय पादरी म्यान हिका करिब १ लाख ४४ हजार भक्तजनहरुले आफूहरु मरेपछि पादरीले स्वर्गमा पुर्याउने विश्वास गर्दै भाइरस संक्रमण एक-अर्कोमा सारेको बताइएको छ। दक्षिण कोरियाबाहिर पनि यो धार्मिक समूहका करिब २० हजार भक्तजन रहेको बताइन्छ। अहिलेसम्म दक्षिण कोरियामा कोरोना संक्रमणका कारण २१ जनाको ज्यान गएको छ भने ३ हजार ७३० जना संक्रमित भएका छन्। सिञ्चेओन्जी चर्चका वरिष्ठ सदस्य किम सीन च्याङले चर्चले गरेको गल्तीप्रति माफी मागेका छन्। राजधानी सियोलको स्थानीय सरकारले अभियोजनकर्ताहरुलाई सो चर्चका संस्थापक म्यान ही र अन्य ११ जनामाथि अनुसन्धान थाल्न निर्देशन दिएको छ। उनीहरुमाथि कोरियामा भाइरस संक्रमण आम रुपमा फैलनुअघि संक्रमितहरुलाई नियमन गर्ने क्रममा नाम लुकाएको आरोप लागेको छ। यतिखेर चीनपछि दक्षिण कोरियामा कोरोना भाइसर संक्रमणको अवस्था सबैभन्दा खराब छ।