एनआरएन कोरियाले दुई हजार कोरोना टेस्ट किट्स दिने

Health-Education International

काठमाडाैँ। कोरोना भाइरस सङ्क्रमण भए नभएको जाँच गर्न प्रयोग हुने दुई हजार किट्स गैर-आवासीय नेपाली सङ्घ दक्षिण कोरियाले नेपाल सरकारलाई प्रदान गर्ने भएको छ।

डोगेन नामक कम्पनीसँग दुई हजार प्रति किट्सका लागि सम्झौता भएको एनआरएन कोरियाले जनाएको छ। एनआरएन कोरियाले काेरियामा अवस्थित नेपालीसँग सहयोग सङ्कलन अभियान समेत थालेको छ। प्रति किट्स बीस हजार कोरियाली वन ( रु दुई हजार) पर्ने भएकाले दुई हजार किट्स लागि रु ४० लाख लाग्ने अनुमान छ।

एनआरएन कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले काेरियामा रहेका प्रत्येक नेपालीले प्रतिव्यक्ति एक किट्स बराबर रकम सहयोग गर्न आग्रह गरेका छन्। उक्त किट्स कोभिड– १९ को सङ्क्रमणको शङ्का भएका बिरामीमा हो हैन भन्ने पुष्टि गर्न प्रयोग हुन्छ। किट्समा बिरामीको र्याल राखेर स्क्यान मेशिनमा स्क्यान गरिएपछि तीन घण्टामै कोभिड बिरामी हो वा हैन भन्ने पत्ता लाग्छ। उक्त किट्स शुक्रबार कार्गो मार्फत चीन पठाइने र चीनबाट नेपाल सरकारको सम्बन्धित निकायले शुक्रबार नै नेपाल पुर्याउने तयारी भएको समेत अध्यक्ष सुवेदीले बताएका छन्।