ne helicopter rescue

गर्भवती महिलाको हवाई उद्धार

News

काठमाडौँ। लकडाउनका कारण मुलुक ठप्प भइरहेका बेला अत्याधिक रक्तश्राव भएकी खोटाङकी एक गर्भवती महिलाको हवाई उद्धार गरि काठमाडौँ ल्याइएको छ।

गर्भवती अवस्थामा रहेकी खोटाङ ऐसेलुुखर्क गाउँपालिका वडा नम्बर ३ की २२ वर्षीया सृजना तामाङको अत्याधिक रक्तश्रावका कारण स्वास्थ्य अवस्था नाजुक हुँदै गएपछि शनिबार दिउँसो नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी काठमाडौँ ल्याइएको हो।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङको निर्देशनमा उपचारका लागि तत्काल काठमाडौँ ल्याएलगत्तै ती महिलाको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा उपचार भइरहेको छ।

५ महिनाकी ती गर्भवती महिलालाई शुक्रबार साँझदेखि रक्तश्राव भएको थियो।

शनिबार बिहानै ऐसेलुखर्कस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको उनको उपचार त्यहाँ सम्भव नहुने देखेपछि चिकित्सकको सुझावमा गर्भमा रहेकी शिशु र आमा दुवैको जीवन रक्षाका लागि काठमाडौँ रिफर गर्नु परेको केन्द्रकी अहेव निर्मला शर्माले जानकारी दिइन्।