चार महिनाको पारिश्रमिक त्याग्दै युभेन्टसका खेलाडी

Sports

काठमाडौँ । इटालीयन क्लब युभेन्टसका खेलाडीले चार महिनाको पारिश्रमिक नलिने भएका छन् । कोरोना भाइरसको संक्रमणका कारण संकटमा परेको क्लबको अवस्थालाई ध्यान दिदै खेलाडीले चार महिना अर्थात मार्च, अप्रिल मे र जुन महिनाको पारिश्रमिक नलिने भएका हुन् ।

युभेन्टसले क्लब र प्रशिक्षकसँगको छलफल पछि सो निर्णय गरेको जानकारी दिएको छ । सो निर्णयपछि युभेन्टसको करिब १०१ मिलियन डलर जोगिने भएको छ ।

क्लबले गरेको छलफलपछि स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोसहित क्लबका पहिलो टिमका खेलाडी र प्रशिक्षकले क्लबको प्रस्तावमा सहमति जनाएका थिए ।

क्लबले खेलाडीहरुसँग आगामी दिनमा यसबारेको सहमति व्यक्तिगत रुपमा गरिने उल्लेख गरेको छ । साथै क्लबले अप्ठ्यारो अवस्थामा क्लबलाई सहयोग गरेकोमा खेलाडी र कोचलाई धन्यवाद दिएको छ ।

यस अघि स्पेनको क्लब बार्सिलोनाले पनि खेलाडीको ७० प्रतिशत पारिश्रमिक कटौती गरेको थियो । त्यस्तै जर्मनी क्लब बायर्न म्युनिख र डोर्टमण्डले २० प्रतिशत पारिश्रमिक कटौती गरेका थिए ।