झापामा बाइस मुलुकबाट आएका ५६९ क्वारेन्टाइनमा

Health-Education

भद्रपुर । विश्वभर कोभिड–१९ को सङ्क्रमण फैलिइरहेका बेला झापामा विभिन्न २२ मुलुकबाट ५६९ जना घर आएको पहिचान भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाले स्थानीय तह र टोल विकास संस्थाको सहयोगमा लगत सङ्कलन गर्दा विदेशबाट झापा आएकाको पहिचान भएको हो।कोरोना सङ्क्रमण फैलिएका मुलुकबाट उनीहरु झापा फर्किएका हुन्।

विगत १५ दिनभित्र नेपाल प्रवेश गरेका ५६९ जनामध्ये ९८ जनालाई मेचीनगर, अर्जुनधारा, भद्रपुर, विर्तामोड र दमक नगरपालिकामा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको छ।

विदेशबाट आएका ४६८ जना होम क्वारेन्टाइनमा बसेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए।

जसमध्ये ३ जनालाई मेची अञ्चल अस्पतालको आइसोलेसनमा राखिएको अस्पतालका फोकल पर्सन कुलबहादुर पौडेलले बताए।

उनका अनुसार सबैभन्दा बढी भारतबाट ३११, दुवईबाट ११५ र कतारबाट ७८ झापा आएका छन्।

साउदी अरब र अस्टे«लियाबाट नौ–नौ जना, मलेसियाबाट सात, बहराईन र हङकङबाट पाँच–पाँच जना झापामा आएका छन्।

सङ्क्रमणको जोखिम मोल्दै फ्रान्स, इटाली, कोरिया, रोमानिया, बङ्गलादेश, जापान, अमेरिकालगायत २२ देशबाट नेपालीहरु झापामा आएका हुन्।