काठमाडौं । नेपाल मेडिकल काउन्सिलले आकस्मिक (ईमरजेन्सी) उपचार नगर्ने र कोरोनाको आशंका भएका बिरामीलाई न्यूनतम आकस्मिक सेवा समेत नदिईएको सम्वन्धमा ध्यानाकर्षण भएको जनाएको छ।
कोरोनाको संक्रमण फैलिन नदिन सरकारले लकडाउन सुरु गरेपछि ज्वरो आएर अस्पताल पुगेका विरामीले उपचार नपाई फर्किनु परेका घटना बढ्न थालेपछि काउन्सिलले ध्यानाकर्षण भएको जनाएको हो। पछिल्लो समयमा अस्पतालहरुले बिरामी नहेरेपछि उपचार नपाएर केहि बिरामीको ज्यान गएको घटनाहरु बाहिर आएका छन्।
काउन्सिलले एक बिज्ञप्ति जारिगरि ‘कोभिड क्लिनिक’ नभएका अस्पतालका चिकित्सकले विरामी नहेरेको र कत्तिपय स्थानमा सोही कारणले मृत्यु समेत भएको भन्दै नेपाल मेडिकल काउन्सिलले त्यसबारे छानविन सुरु गरेको जनाएको छ।
‘कोभिड–१९’ को आशंकाको भरमा अन्य रोगका विरामी नहरेको बारे काउन्सिलको ध्यानाकर्षण भएको छ’ बिहिबार काउन्सिलले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘त्यस्ता विषयहरुमा काउन्सिलले छानबिन सुरु गरेको छ।’
कोरोना संक्रमण बिरुद्धको लडाईमा स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थाहरु तथा स्वास्थ्य मन्त्रालय मातहतका निकायहरुको महत्वपुर्ण भूमिका रहने काउन्सिलले जनाएको छ। काउन्सिलले सुरक्षा कवच (पीपीई) को प्रयोग गरेर आकस्मिक उपचारमा ढिलाई नगर्न समेत चिकित्सकलाई आग्रह गरेको छ।
बिरामी रेफर गर्नुपरेमा स्क्रिनिङ गरि यातायातको ब्यवस्था मिलाएर मात्र रेफर गर्न समेत काउन्सिलले अपिल गरेकाे छ। काउन्सिलले ‘कोडिभ–१९ को लागि नतोकिएका अस्पतालहरुले कोभिड बाहेक अन्य रोगीहरुका जरुरी सेवाहरु यथावत राख्ने’ बिज्ञप्तिमा जनाएको छ।