कर्णालीमै कोरोना परीक्षण सुरु

Health-Education

वीरेन्द्रनगर – कोभिड–१९ अर्थात् कोरोना भाइरसको नमुना परीक्षण बिहीबारदेखि कर्णालीमा पनि सुरु भएको छ। प्रदेश स्वास्थ्य सेवा निर्देशनालयअन्तर्गतको प्रयोगशाला कालागाउँमा कोरोना परीक्षण गर्ने आरटीपीसीआर मेसिन जडान गरिएपछि उक्त रोगको परीक्षण कर्णालीमा सुरु भएको हो।

उक्त मेसिनले एक घण्टामा एउटा व्यक्तिको नमुना परीक्षण गर्ने छ। पहिलो दिन क्वारेन्टाइनमा रहेका मध्यबाट चारजनाको स्वाब परीक्षण गरिएको छ। परीक्षण गरिएकाको रिपोर्ट प्रत्येक दिन साझ सार्वजनिक गरिनेछ। सुर्खेतमै कोरोना परीक्षण प्रयोगशाला स्थापना भएपछि रिपोर्ट छिटो आउने र परीक्षण गर्न सजिलो हुने अपेक्षा गरिएको छ।

सुर्खेतमा कोरोना परीक्षण सुरु भएपछि काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ। जिल्लाबाट कोरोना शंकास्पद बिरामीको नमुना परीक्षणका लागि स्वाब संकलन गरी काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाउने गरिन्थ्यो। नमुना पठाएको झन्डै एक हप्तादिन मात्रै रिपोर्ट आउने गरेको थियो।