काठमाडौँ । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि काठमाडौँ महानगरपालिकाले तरकारीको बिक्री वितरण गर्न विभिन्न ११ स्थान निर्धारण गरेको छ। बल्खु र कालीमाटी तरकारी बजारको भीडभाड हुन नदिन कामपाले कलङ्की , बाफल , स्वयम्भू , वनस्थली , गोङ्गबु, वसुन्धरा, गोपीकृष्ण हल , तीनकुने , लैनचौर, रत्नपार्क र कोटेश्वर चोकमा तय गरेको हो।
विभिन्न ११ स्थानबाट बिहान ८ः०० बजेसम्म बिक्री गर्ने व्यवस्थाका लागि स्थान उपलब्ध गराइनेछ।

भीडभाड कम गर्नकै लागि हाल कालीमाटी फलफूल तथा तरकारी बजार पूर्णरुपमा बन्द रहेको छ । अहिले कामपाले सञ्चालनमा ल्याएको तरकारी बिक्री वितरणस्थलहरु सम्बन्धित स्थानमा वडा कार्यलयको सहयोग र समन्वयमा रहेको पनि कामपाले जानकारी गराएको छ। कामपाले लकडाउन अवधिभर वैकल्पिक तरकारी बजारका रुपमा सञ्चालनमा ल्याएको उक्त बिक्रीस्थानबाट उपभोक्ताले आफूलाई अनुकूल पर्ने स्थानबाट फलफूल तथा तरकारी खरिद गर्न सक्नेछन्। त्यस्तै फलफूल तथा तरकारी बजारमा उपभोक्ताबाट लिने गरेको अस्वाभाविक मूल्यले गर्दा थोक मूल्य र खुद्रा मूल्यमा देखिएको मूल्य अन्तरलाई यथार्थपरक बनाउने र त्यसका लागि सबै पक्षले आवश्यक समन्वय गर्नुपर्नेछ।