हेटौँडा औद्योगिक क्षेत्रका १८ प्रतिशत उद्योग मात्र सञ्चालन

Economy

हेटौँडा, चैत ३० गते । कोरोना विषाणुको सङ्क्रमणको त्रासका कारण हेटौँडा औद्योगिक क्षेत्रका १८ प्रतिशत उद्योग सञ्चालनमा छन् । कोरोना भाइरसको महामारी विश्वव्यापी रूपमा फैलिएसँगै सङ्क्रमण रोक्न सङ्घीय सरकारको खाद्यान्नलगायतका अत्यावश्यक वस्तु तथा सेवाका उद्योग सञ्चालन गर्ने निर्णयसँगै हेटौँडा औद्योगिक क्षेत्रस्थित १९ वटा उद्योग मात्र सञ्चालनमा छन् ।
औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका १११ वटा उद्योगमध्ये १९ वटा उद्योग आंशिक रूपमा सञ्चालनमा रहेका हुन् । दूध, साबुन, कुकिज, प्लास्टिक प्याकेजिङ, दाना, पास्ता उत्पादन गर्नेलगायतका उद्योग सञ्चालनमा रहेका छन् ।
सञ्चालनमा रहेका उद्योगमा हात धुने छुट्टै व्यवस्था, स्यानिटाइजर, मास्कलगायतका व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्रीको प्रयोग गरी कामदार, कर्मचारीले उत्पादनको काम गरिरहेका छन् ।
हेटौँडा दुग्ध वितरण आयोजना, खाद्य उद्योग, भ्याली पेलेट फिड, सिद्धार्थ पेलेट फिड, नेपाल चिलिङभ्याट, मकवानपुर वेभरेज प्रालि, महाशक्ति सोप एन्ड केमिकल्स प्रालि, एमएम पोलिमर्स, नेपाल पास्ता फुड, ग्यासिका टेक्स्टाइल लगायतका उद्योग सञ्चालनमा छन् ।