केन्द्र सरकारले लकडाउन गरेको अहिलेको जटिल अवस्थामा प्रदेश २ सरकारले भने आज सार्वजनिक बिदाको घोषणा गरेको छ ।
यस्तो विपदको अवस्थामा मुलुकलाई लकडाउन गर्दै कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि संघीय सरकारले आपतकालीन अवस्था घोषणा गर्दै सार्वजनिक तथा निजी संस्थालगायत सम्पूर्ण क्षेत्र ठप्प रहेको अवस्थामा प्रदेश सरकारले सार्वजनिक बिदाको घोषणा गरेको हो ।
प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जारी गरेको विज्ञप्तिमा नववर्षको अवसरमा प्रदेशवासीलाई शुभकामना दिँदै मंगलबार जुड सितल पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा दिएको उल्लेख छ ।
‘यतिबेला नोभल कोरोना भाइरसको ठूलो जोखिममा छौँ । प्रदेश सरकार उच्च मनोबलका साथ साधन स्रोत तथा जनशक्तिको अधिकतम उपयोग गरी यो महामारीको मुकाविल गर्न लागि परेको छ । यस्तोमा सरकारद्वारा जारी हुने निर्देशन तथा सुझावलाई पालना गर्दै यो पर्व सामाजिक दूरी कायम गरी मनाउनु हुन सम्पूर्ण प्रदेशवासीसँग आग्रह गर्दछु,’ मन्त्री यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।