सल्यानमा नक्कली विरामी बनी एम्बुलेन्सको दुरुपयोग गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । लकडाउनमा झुठो कागजात र नक्कली विरामी बनाई रुकुमबाट दाङ्ग तुलसीपुर जाँदै गरेको एम्बुलेन्स सहित चार जनालाई पक्राउ गरेको हो । रुकुमबाट दाङ्ग जाँदै गरेको मानव परोपकार तथा समाज कल्याण केन्द्र दाङको एम्बुलेन्समा सवारी चालकसहित चार जनालाई बागचौर नगरपालिका ४ बांगेलाखुरीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्याल्य सल्यानले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुको साथबाट पश्चिम रुकुम एरियामा रहेको नेपाल सरकार अन्तर्गत स्वास्थ्य सेवा विभाग, स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीबाट जारी भएको प्रेषण स्थानान्तारणको पुर्जा, उक्त पुर्जामा भएको विरामीको नाम थर प्रकाश बुढा रुकुम पश्चिम मुसिकोट ९ लेखिएका पुर्जा भेटिएको छ । तर उक्त एम्बुलेन्समा कुनै पनि व्यक्तिको वास्तविक नाम थरसँग मेल नखाएकाले पक्राउ गरी अनुसन्धान भैरहेको छ ।