काठमाडाैँ, २ बैशाख । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता खेलाडीलाई सरकारले घोषणा गरेको पुरस्कार रकम प्रदान गर्न थालेको छ । युवा तथा खेलकुद मन्त्रालयले मंगलबारदेखि खेलाडीको बैंक खातामा पुरस्कार रकम पठाउन थालेको हो ।
गत मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा आयोजित साग सकिएको भोलिपल्टै प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीलाई बालुवाटार बोलाएर पुरस्कार रकमको घोषणा गरेका थिए ।
खेलाडीले पाँच महिनापछि पुरस्कार पाउन थालेका हुन् । युवा तथा खेलकुद मन्त्रालयले पहिलो दिन एक सय ७९ जना खेलाडीको बैंक खातामा पैसा पठाएको छ । मन्त्रालयले सिस्टक ह्याक भएको कारण सबै खेलाडीको रकम पठाउन नसकिएको भन्दै बुधबार सबै खेलाडी र प्रशिक्षकको पुरस्कार रकम ब्यक्तिगत खातामा गइसक्ने पनि जनाएको छ । मन्त्रालयले खेलाडी र प्रशिक्षक गरी ६ सय २८ जनाको खाता पुरस्कार रकम पठाउनेछ ।
सरकारले १३औं सागमा स्वर्ण पदक विजेतालाई नौ लाख, रजतलाई ६ लाख र कांस्यलाई तीन लाख रुपैयाँ तथा एक भन्दा बढी स्वर्ण जित्नेलाई ११ लाख रुपैयाँका दरले पुरस्कारको घोषणा गरेको थियो । यसैगरी सरकारले टिम स्पर्धामा स्वर्ण विजेतालाई ६ लाख, रजतलाई चार लाख र कांस्य जित्नेले दुई लाख रुपैयाँ प्रदान गरेको छ ।
सरकारले स्वर्ण जिताउने मुख्य प्रशिक्षकलाई जनही पाँच लाख, रजतलाई तीन लाख र कांस्य लाई दुई लाख, सहायक प्रशिक्षकलाई स्वर्णको तीन, रजतको दुई र कांस्यको एक लाख रुपैयाँ प्रदान गरेको छ । सरकारले टिम गेम र प्रशिक्षकलाई पछि कार्यविधि बनाएर पुरस्कार प्रदान गरेको हो ।
घरेलु भूमिमा तेस्रो पटक आयोजित सागमा नेपाल पदक तालिकाका भारतपछि दोस्रो भएको थियो। सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्यगरी कूल दुई सय ६ पदक जितेको थियो । गौरिका सिंहले पौडीमा सर्वाधिक चार स्वर्ण, दुई रजत र तीन कांस्य जित्दै इतिहास रचेकी थिइन् ।