धनगढी , ३ बैशाख । कोरोना भाइरसको बढी जोखिम देखिएको सुदूरपश्चिम प्रदेशमा मङ्गलबारसम्म भाइरसका शङ्कास्पद पाँच हजार ४६१ व्यक्तिको नमूना सङ्कलन गरिएकामा तीन हजार ९१७ को नतिजा ‘नेगेटिभ’ आएको छ।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले एक हजार ५३९ को नतिजा आउन बाँकी रहेको जानकारी दिए।
प्रदेशमा ‘आरटिपिसिआर’ र ‘आरडिटी’ पद्धतिबाट कोरोनाका शङ्कास्पद व्यक्तिको नमूना सङ्कलन भइरहेको छ ।
मङ्गलबारसम्म दुई हजार ५२० को आरटिपिसीआर पद्धतिबाट गरिएको नमूना सङ्कलनमा ९७६ को नतिजा नेगेटिभ आएको छ भने एक हजार ५३९ को नतिजा आउन बाँकी छ । यही पद्धतिबाट नमूना सङ्कलन गर्दा पाँच जनामा कोरोना पोजेटिभ देखिएको यसअघि नै पुष्टि भइसकेको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको कोरोना सङ्क्रमितका पाँच जनाको स्वास्थ्य अवस्था सामान्य रहेको सो अस्पतालले जनाएको छ ।
यस्तै आरडिटी पद्धतिबाट दुई हजार ९४१ को नमूना सङ्कलन भएकोमा सबैको नतिजा नेगेटिभ आएको छ । सोमबार मात्र कोरोना भएको पुष्टि भएकी कैलाली लम्कीचुहा नगरपालिकाकी महिलाको र्यापिड टेस्टका लागि रगतको नमूना र स्वाब काठमाडौँबाट आएको टोलीले सङ्कलन गरी लगेको थियो ।