खाद्यान्न बोकेको ट्रकबाट मदिरा बरामद

News

कैलाली, जेठ ५ गते । धनगढीमा नुनसहित खाद्यान्न बोकेको मिनिट्रकबाट एक लाख रुपियाँ बढीको मदिरा प्रहरीले आज बरामद गरेको छ ।

धनगढी उपमहानगरपालिका–४ अस्थायी प्रहरी पोष्ट, चटकपुरबाट प्रहरी सहायक निरीक्षक गजेन्द्रबहादुर चन्दको कमाण्डमा खटिइएको प्रहरी टोलीले गोदावरी नगरपालिका–४ का नरेन्द्रसिंह महराले चलाइराखेको से १ ख २०१० नम्बरको मिनिट्रकमा जाँचका क्रममा  एक लाख १५ हजार ९२५ रुपियाँ बराबरको १२६ पेटी रोज नामक मदिरा बरामद भएको हो।

धनगढीबाट अत्तरियातर्फ गइरहेको अवस्थामा ट्रकलाई रोकी जाँच गर्दा मदिरा लुकाईछिपाई राखेको अवस्थामा बरामद गरिएको बताइएको छ ।

ट्रकसहित चालकलाई नियन्त्रणमा लिई गाडी र मदिरा धनी धनगढी–१३ का दिनेश पन्तलाई समेत पक्राउ गरी अनुसन्धान भइरहेको जनाइएको छ ।