नेपालगञ्जका २१ जनाले एकै साथ कोरोनालाई जिते

काठमाडौं–नेपालगञ्जका २१ जना संक्रमितले एकैसाथ कोरोना भाइरसलाई जितेका छन्। नेपालगञ्ज उपमहानगरपालिका ७ का पहिलो सङ्क्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २१ जना कोरोना भाइरस मुक्त भएका हुन्।

खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा प्रदेश सरकरले स्थापना गरेको कोरोना विशेष आइसोलेशन अस्पतालमा उपचार गराईरहेका उनीहरुमध्ये पहिलो सङ्क्रमितको तेस्रो पटकको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेण्डेण्ट डा.प्रकाश थापाले बताए।

थापाका अनुसार पहिलो सङ्क्रमितको यसअघि गरिएको दोस्रो पटकको परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको थियो। अन्य २० जनाको भने दोस्रो पटक देखिकै रिपोर्ट नेगेटिभ आएको थियो। कोरोना पराजित गरेका २१ जनालाई शुक्रबार स्वास्थ्य परामर्शपछि घर पठाउने तयारी अस्पताले गरेको छ।

तीन दिनअघि दोस्रो तथा तेस्रो परीक्षणका लागि स्वाब सङ्कलन गरी भेरी अस्पतालको प्रयोगशालामा दुई पटकसम्म गरिएको परीक्षणमा पनि २१ जनाको रिपोर्ट नेगेटिभ आएको थियो।

नेपालगञ्जमा गत वैशाख १९ गते पहिलो सङ्क्रमण पुष्टि भएको थियो। हाल बाँकेमा सङ्क्रमितको संख्या १०१ पुगेको छ।बाँकेमा बिहीबार सङ्क्रमण देखिएका दुई जना पनि एकहप्ता अघि भारतबाट आएका थिए।