नेपाली ह्याकरहरूको समूहले भारतीय आधार कार्डको विवरण ह्याक गरेका छन् । नेपालले लिम्पियाधुरा-लिपुलेक-कालापानीसमेतको नक्सा जारी गरेपछि केही भारतीय ह्याकरले केही नेपाली सरकारी साइटहरू ह्याक गरेसँगै नेपाली ह्याकरहरूले प्रतिकारमा आधार कार्ड विवरण नै ह्याक गरिदिएका हुन् ।
नेपाली ह्याकरहरूको समूहले आफूले ७ करोड आधार कार्डको विवरण ह्याक गरेको दाबी गरेको छ । उनीहरूले सार्वजनिक गरेको ‘स्याम्पल फाइल’ मा भने २१४५ जनाको आधार कार्ड विवरण छ । ‘यो खेल उनीहरूले सुरु गरेका हुन्, यसको सानो जवाफमात्रै हामीले दिएका हौं,’ ह्याकिङ समूहका एक सदस्यले भने, ‘हामी अरु फायलमा पनि एक्सेस गदैछौं ।’
आधार कार्ड भनेको भारतको एकीकृत राष्ट्रिय परिचय पत्र हो । यसलाई भारतीय विशिष्ट पहिचान पत्र भनिन्छ । भारतमा बस्ने मानिसहरूलाई यो परिचयत्र पत्रमा ‘यूनिक आइडेन्टिफिकेसन नम्बर (यूआईडी) प्रदान गरिएको हुन्छ, जसमा उसको पूरै व्यक्तिगत विवरण राखिएको हुन्छ ।
सूचना तथा सञ्चार प्रविधि (आईसीटी) विज्ञहरू भने नेपालमा साइबर सेक्युरिटी कमजोर रहेको अवस्थामा यसरी ‘साइबर वार’ मा जान नहुने बताउँछन् । ‘अहिलेको युगमा बोर्डर सेक्युरिटीमात्रै होइन, साइबर सेक्युरिटी पनि हो,’ साइबर सेक्युरिटी विज्ञ डा. राजीव सुब्बाले भने, ‘नेपालमा साइबर सेक्युरिटीका लागि राज्यले न ध्यान दिएको छ न त पर्याप्त लगानी नै गरेको छ ।’
वर्तमान जोखिमलाई ध्यान दिएर राज्यले तत्कालै सरकारी सूचना प्रणालीको नेटवर्क सुरक्षा र साइबर सुरक्षा बलियो बनाउनु पर्ने डा. सुब्बाको सुझाव छ । ‘नेपालमा साइबर इन्टेलिजेन्स अपरेसन सेन्टरको आवश्यकता रहेको कुरा हामीले लामो समयदेखि औंल्याउँदै आएका छौं, यसबारे सरकारको ध्यान पुग्न जरुरी छ,’ उनले भने ।
अन्य मुलुकहरूको अभ्यासलाई उद्धृत गर्दै डा. सुब्बाले यस्तो ‘साइबर इन्टेलिजेन्स अपरेसन सेन्टर’ले मुलुकभित्र हुनसक्ने कुनै पनि साइबर आक्रमणका विरुद्ध प्रतिरक्षा बलियो बनाउने बताए ।
-न्युजकारोबारबाट साभार