मरिचमान सिंह श्रेष्ठ नेपालका राजनीतिज्ञ तथा पञ्चायती व्यवस्थामा प्रभावशाली व्यक्ति थिए। उनी पञ्चायती व्यवस्थाको अन्त्यतिर नेपालका प्रधानमन्त्री बनेका थिए। पञ्चायती व्यवस्था भित्र गरम गुटको नेतृत्त्व गर्दै २०४३ साल जेठमा यिनी प्रधानमन्त्री बनेका हुन्। त्यस अघि यिनी तत्कालिन राष्ट्रिय पञ्चायतका अध्यक्ष थिए। नेवार समुदायबाट प्रधानमन्त्री वा मन्त्रीपरिषदको अध्यक्ष बन्ने यिनी गेहेन्द्र बहादुर राजभण्डारी पछी दोस्रो व्यक्ति हुन्। राष्ट्रिय पञ्चायतको अध्यक्ष रहुन्जेल मरिचमान सिंह मात्र लेख्दै आएका यिनले प्रधानमन्त्री भएपछि पहिलो पटक मरिचमान सिंह श्रेष्ठ नाम लेखि आफूलाई नेवारको रूपमा परिचित गराएका थिए।
मरिचमान सिंह श्रेष्ठको जन्म सल्यान जिल्लाको खलङ्गा बजारमा १९९७ कार्तिक १७ मा भएको थियो। उनी २०१७ सालदेखि राजनीतिमा सक्रिय थिए। २०३० सालमा राष्ट्रिय पञ्चायतको सदस्य भएका सिंह पञ्चायत भित्रको अनुदारवादी खेमामा थिए। दरवारको विश्वासपात्र सिंह २०३८ सालमा पञ्चायती व्यवस्थाको सङ्गठन हेर्ने पञ्चायत नीति तथा जाँचबुझ समितिको अध्यक्ष तथा राष्ट्रिय पञ्चायतको अध्यक्ष बने । पञ्चायतको अन्त्यतिर २०४३ साल जेठदेखि २०४६ साल चैतसम्म यिनी नेपालको प्रधानमन्त्री थिए। यिनी प्रधानमन्त्री भएकै बेला नेपाल भारत पारवाहन सन्धिको विषयलाई लिएर भारतले नेपाललाई नाकावन्दी लगायो। यिनले भारत सँग नझुक्ने अडान लिएर बसे। त्यसैबेला सुरू भएको शान्तिपुर्ण जनआन्दोलन २०४६ मा प्रजातन्त्र प्राप्त गर्न आन्दोलमा लागेका समूह माथि अत्याधिक शक्ति प्रयोग गरेर दमन गरेकाले यिनी सबैभन्दा बढी आलोचित पञ्चायती प्रधानमन्त्री बन्न पुगे। २०४३ साल जेठ ३१ गते राष्ट्रिय पञ्चायतबाट प्रधानमन्त्रीमा निर्विरोध निर्वाचित भएका सिंहले जनआन्दोलन उत्कर्षमा पुगेपछि २०४६ साल चैत २३ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।
पञ्चायती व्यवस्थाको अन्त्यपछि यिनी राजनीतिक रूपमा पूर्ण निस्कृय बसे।अरु पंचायतकालीन नेताहरु पार्टी खोलेर प्रजातन्त्रवादी नेता बनिसक्दा पनि यिनले आफ्नो राष्ट्रवादी छवि छोडेनन्। २०५६ सालको निर्वाचनमा काठमाडौंबाट उम्मेदवारी दिएपनि त्यसपछि पुनः निस्कृय नै रहे। ०४६ परिवर्तनपछि उनी कुखुरापालन र गाईपालन गरेर राजनीतिबाट टाढा बसेका थिए।
श्रेष्ठ राष्ट्रवादी छविका नेताका रूपमा चिनिएका थिए। ०४५ सालमा भारतले नुन तेल लगायतका अत्यावश्यक वस्तुको आयातमाथि प्रतिबन्ध लगाएको र पारवाहन सन्धी सम्बन्धी विवाद परेका बेला श्रेष्ठले लिएको अडानको प्रशंसा हुने गरेको छ। उनले त्यतिबेला भारतसंग पनि झुकेनन् अनि देशमा अत्यावासक सामग्रीको पनि कमि हुन दिएनन्। तत्कालिन अवस्थामा पनि उनले तेश्रो मुलुकबाट हवईजहाजबाट सामान आपूर्ति गरि देशमा आपूर्ति व्यबस्था सामान्य बनाएका थिए।
मरिचमान सिंह श्रेष्ठको निधन २०७० साउन ३० गते काठमाडौंमा भयो। लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित श्रेष्ठको ७१ वर्षको उमेरमा बिहान तीन बजे काठमाण्डौं थापाथली स्थित नर्भिक अस्पतालमा निधन भएको हो। क्यान्सरले ग्रस्त श्रेष्ठलाई भारतको मेदान्ता अस्पतालमा उपचार गराइएको थियो। आफ्नै देशमा प्राण त्याग गर्ने इच्छा व्यक्त गरेपछि उनलाई भारतबाट एयर एम्बुलेन्समा २९ गते मंगलबार नेपाल ल्याइएको थियो।

उनको अन्तिम संस्कारमा सरकारले सम्मान नदिने निर्णय गरेपछि विरोध भएको थियो र तत्कालिन सरकारले हेपाहा तरिकाले एक टुकडी प्रहरी सलामीको लागि पठाएको थियो , तर राष्ट्रवादी प्रधानमन्त्री श्रेष्ठलाई उनको अन्तिम संस्कारमा उपस्थित जनताले पुरानै राष्ट्रगान गएर श्रद्धान्जली अर्पण गरेका थिए। कुनैबेला निरंकुशको बिल्ला भिराइएका प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठलाई र उनको योगदानलाई हाल आएर सिंगो देशले सम्झिन थालेका छन्। जब जब रास्ट्रीयताको मुद्दा उठ्छ यिनलाई नसम्झने सायदै होलान्।