काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्द रहेका चर्चहरु पुनः खुल्ला गर्न निर्देशन दिएका छन् । यस सम्वन्धी अन्य आदेशहरु समेत खारेज हुने र यही आदेशलाई मान्न स्पष्ट पार्दै उनले चर्च तथा प्रार्थनास्थलहरु खुल्ला गर्न निर्देशन दिएका हुन् ।
राष्ट्रपति ट्रम्पले जवरजस्त मुलुकलाई खुल्ला गर्न खोजेको टिप्पणी धेरैले गरेका छन् । उनले लकडाउन लगाउनका लागि अमेरिका बनेको हैन भन्दै लकडाउन लगाउन अस्विकार गर्दै आएका छन् । तैपनि आफै बन्द भएका वा स्थानीय प्रशासनले बन्द गराएका व्यापार, व्यवसाय, कार्यालय आदी विस्तारै खोल्ने तर्फ उनले प्रेरित गर्दै आएका छन् ।
कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि झण्डै दुई महिनादेखि सुस्ताएको आर्थिक गतिविधिहरुलाई पुनः सूचारु गर्नु पर्नेमा ट्रम्को जोड रहेको छ । उनले लामो समयसम्म बन्द गर्दा सवै तिरको आर्थिक पक्षमा समेत नराम्रोसँग असर पर्ने भएकाले बन्द गरेर मात्रै बस्न नहुने उनको भनाई छ ।
राष्ट्रपति ट्रम्पको निर्देशनपछि उनको निर्देशनलाई पछ्याउदै देशको रोग नियन्त्रण तथा न्युनिकरण केन्द्रले नयाँ निर्देशिका पनि जारी गरेको छ । निर्देशिकामा न्युन संख्यामा उपस्थित हुनु पर्ने, सामाजिक दुरी कायम गर्नु पर्ने, उच्च स्वास्थ्य सतर्कता अपनाउनु पर्ने, मास्क, सेनिटाइजर, पञ्जा आदीको प्रयोग गर्नु पर्ने लगायतका सर्तहरु पनि उल्लेख गरिएको छ ।
स्वास्थ्य अधिकारीहरुले सामन्यतया सार्वजनिक स्थलहरुमा दश जनाभन्दा बढी मानिसको भिडभाग हुन नदिन पनि सुझाव दिएका छन् ।
एजेन्सी