राजाहरुको तस्वीर अंकित नोट निषेध इतिहास मेटाउने पुर्वाग्रही काम -कमल थापा

Politics

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजाहरुको तस्वीर अंकित नोट निषेधगर्ने निर्णय इतिहास मेटाउने पुर्वाग्रही काम भएको टिप्पणी गरेका छन् ।

नेपाल राष्ट्रबैंकले आइतबार बैंकहरुलाई झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको, छपाइ बिग्रेको, नोटमा रहेका अक्षर, अंक, चित्र तथा सुरक्षण विशेषताहरू नबुझिने वा बिग्रिने गरी रङ्ग लागेको, च्यातिएको वा पूर्वराजाको तस्वीर अंकित भएको नोटलाई निष्काशनलाई अयोग्य नोटको रुपमा वर्गीकरण गर्न निर्देशन दिएको थियो ।

अध्यक्ष थापाले यो निर्णयलाई पूर्वाग्रही कामको संज्ञा दिदै यसले राष्ट्रिय एकतालाई कमजोर पार्ने बताएका छन् । उनले यो आपत्तिजनक निर्णय फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण समेत गराएका छन् ।

उनले भनेका छन् – ‘राजाहरुको तस्वीरअंकित नोट निषेधगर्ने निर्णय इतिहास मेटाउने पुर्वाग्रही काम हो।राष्ट्रिय अखण्डताको रक्षागर्न देश एकढिक्का हुनुपर्ने बेला यो निर्णयले राष्ट्रिय एकतालाई कमजोरपार्छ । राष्ट्रवादी शक्तीलाई विभाजित गर्छ।यो आपत्तिजनक निर्णय फिर्तागर्न प्रमको ध्यानाकर्षण गर्दछु ।’