गुल्मीमा गाउँपालिका अध्यक्षमा कोरोना संक्रमण पुष्टि

Health-Education

२०७७ जेष्ठ १३ : काठमाडौँ – गुल्मीको धुर्कोट गाउँपालिकाका अध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख, डा. भवानीप्रसाद शर्माले गाउँपालिकाका अध्यक्षमा संक्रमण पुष्टि भएको बताउनु भयो ।  प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको नमूना परीक्षणमा हिजो गुल्मीका दुईजनामा संक्रमण भेटिएको थियो ।

“पाँच जनाको नमूना संकलन गरेर परीक्षणका लागि पठाइएको थियो”, उनले भने, “दुईजनामा संक्रमण पुष्टि भयो । दुईको रिपोर्ट नेगेटिभ आएको छ । बाँकी एकजनाको भने रिपोर्ट आउन बाँकी छ ।”

दुईजनामध्ये एक संक्रमित धुर्कोट गाउँपालिकाका अध्यक्ष हुन् । स्वास्थ्य कार्यालय प्रमुख शर्माले संक्रमण पुष्टि भएका दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनु भयो ।

उनीहरूको कन्ट्याक्ट ट्रेसिङको काम अघि बढाइएको उनले जानकारी दिए। गाउँपालिकाका अध्यक्ष संक्रमित पुष्टि हुनुअघि जिल्लास्तरका विभिन्न बैठकमा समेत सहभागी थिए ।

जिल्ला स्वास्थ्य कार्यालयले अध्यक्षको सम्पर्कमा रहेका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुखलगायत प्रत्यक्ष सम्पर्कमा रहेका अन्य जनप्रतिनिधिहरूकोसमेत नमूना संकलन गरिने जनाएको छ ।

धुर्कोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थीले संक्रमित व्यक्ति जनप्रतिनिधि भएको भन्दै अहिले घरमै सेल्फ आइसोलेसनमा रहेको जानकारी दिनु भयो । सेल्फ आइसोलेसनमा रहेका गाउँपालिकाका अध्यक्षलाई तम्घासमा रहेको आइसोलेनसमा राख्ने तयारी भइरहेको छ ।

गुल्मीमा यसअघि दुईजनामा कोरोना संक्रमण देखिएको थियो । तीमध्ये मदाने गाउँपालिकाका ४१ वर्षीय शिक्षकको भने कोरोना संक्रमणकै कारणले मृत्यु भएको छ। उनकै घरमा डेरा गरी बस्ने अर्का व्यक्तिलाई पनि संक्रमण पुष्टि भएको थियो ।