२०७७ जेष्ठ १४ : काठमाडौँ – भेरी नदीको किनारमा स्थानीयले अर्का एक जनाको शव फेला पारेका छन् । बुधबार दिउँसो स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको जाजरकोटका प्रहरी प्रमुख (डीएसपी) किशोर श्रेष्ठले बताउनु भयो । भेरी नगरपालिका वडा नं ११ का लोकेन्द्र सुनारको शव फेला परेको हो ।
भेरी नगरपालिका १३ स्थित उदु नजिकै भेरीको किनारमा शव भेटिएको डीएसपी श्रेष्ठले बताउनु भयो । भेरी नगरपालिका वडा नं ११ कै गोविन्द शाही र वडा नं ४ का सन्दीप विक अझै बेपत्ता छन् । भेरी नगरपालिका–४ का नवराज विक र गणेश बुढा, चौरजहारी–८ का टीकाराम सुनारको शव यसअघि नै फेला परिसकेको छ ।
हराइरहेका युवाहरुको खोजीका लागि मंगलबारबाट भेरी नदीमा सशस्त्र प्रहरीका गोताखोर परिचालन गरिएको छ । सशस्त्र प्रहरी बलको जाजरकोटस्थित आश्रित गुल्मबाट डीएसपीको कमाण्डमा ४ जना गोताखोरसहित ११ जना र सशस्त्र प्रहरी बल ४७ नं गुल्म पश्चिम रुकुमबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा ४ जना बिपद ब्यबस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी परिचालन गरिएको हो ।
केटी भगाउन आएका जाजरकोटका युवालाई शनिबार रुकुम (पश्चिम) को चौरजहारी नगरपालिका–८ सोतीमा स्थानीयले लखेटेर हत्या गरेका हुन् । घटनामा संलग्न ८ जनालाई रुकुम पश्चिम प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।