नयाँ दिल्ली । भारतीय सरकारी एयरलाइन्सको विमानका पाइलटलाई कोरोना पोजेटिभ देखिएपछि विच उडानबाटै फर्काइएको छ ।
एयर इंडियाको ए३२० विमान रुसको मस्कोका लागि उडेकोमा पाइलटको कोरोना टेस्ट पोजेटिभ आएपछि बीच उडानबाटै फिर्ता बोलाइएको हो ।
विमानमा कुनै यात्रु भने नभएको बताइएको छ । मस्कोमा रहेका भारतीय नागरिकलाई लिन उडेको विमानमा चालकदलका सदस्य मात्र रहेको बताइएको छ ।
विमान शनिबार विहान साढे १२ बजे दिल��ली फर्किएको एएनआईले उल्लेख गरेको छ । विमानका चालक दलका सदस्यलाई क्वारेन्टाइनमा पठाइएको छ ।
सो विमान फर्किएपछि भारतीय नागरिकलाई लिन अर्को विमान पठाइएको छ ।
रिपोर्टका अनुसार पाइलटको रिपोर्ट निगेटिभ आएको भनेपछि विमान उडेको थियो । तर पछि क्रसचेक गर्दा उडान भरेको विमानका पाइलटको रिपोर्ट पोजेटिभ देखिएपछि बीच उडानबाट नै फिर्ता गरिएको बताइएको छ ।
सरकारले विमान उडान अघि सबै चालक दलको कोरोना टेस्ट गरेर मात्र विमान उडान अनुमति दिएको छ ।
