२०७७ जेष्ठ १८ : काठमाडौँ – रुकुम हत्याकाण्डको अनुसन्धानमा सहयोग गर्न प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को टोली पनि रुकुम पश्चिम प्रस्थान गरेको छ । आइतबार प्राविधिक सहयोग गर्न दुई जना जुनियर अधिकृतको टोली रुकुम प्रस्थान गरेको सीआईबी स्रोतले जानकारी दियो ।
घटनाको अनुसन्धानमा छुट्टै टोली समेत परिचालन गर्ने विषयमा छलफल भइरहेको गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन् । तर अहिले जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले गरिरहेको अनुसन्धानमा नै सहयोग गर्न टोली पठाइएको सीआईबीले जनाएको छ ।
यसअघि संघीय प्रहरी कार्यालय कर्णालीबाट पनि ८ जनाको टोली रुकुम पश्चिम पुगिसकेको छ। एसएसपी पोषराज पोख्रेलको नेतृत्वको टोलीमा ५ जना विशेष अनुसन्धान अधिकृतहरु छन् । यस्तै गृह मन्त्रालयले गठन गरेको छानविन समिति र मानव अधिकार आयोगको टोली पनि घटनास्थल गएको छ ।
जाजरकोटको भेरी नगरपालिकाबाट नवराज विकसहितको टोली भागी विवाहका लागि गत शनिबार रुकुम पश्चिमस्थित चौरजहारी ८ सोती पुगेको बेला उनीहरुमाथि स्थानीयले आक्रमण गरेका थिए ।
उनीहरुमध्ये ५ जनाको भेरी नदीमा शव फेला परेको छ। भेरी नगरपालिका ११ का गोविन्द शाही अझै बेपत्ता छन् । सशस्त्र प्रहरीको गोताखोर टोलीले उनको खोजी गरिरहेको छ ।