२०७७ जेष्ठ १९ : काठमाडौँ – सरकारले विदेशबाट फर्केका नागरिकलाई सम्बन्धित स्थानीय तहसम्म पुर्याउने जिम्मा नेपाली सेनालाई दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट होल्डिङ सेन्टर र त्यहाँबाट सम्बन्धित जिल्लासम्म पुर्याउने जिम्मा नेपाली सेनालाई दिइएको हो ।यसका लागि आवश्यकता अनुसार सेनालाई ब्यारेक बाहिर निस्कन सुरक्षा परिषदले बाटो खोलिसकेको छ । सेनाले यसअघि देखि नै कोरोना संक्रमणसँग सम्बन्धित जोखिम व्यवस्थापनको काम गरिरहेको भएपनि यसरी छुट्टै जिम्मा दिइएको थिएन ।
सरकारले विदेशबाट नागरिक फर्काउने तयारी अन्तिम चरणमा पुर्याएसँगै सेनालाई थप जिम्मेवारी दिइएको हो । विदेशस्थित नेपाली दूतावास मार्फत फर्किनेहरुको विवरण संकलन भइरहेको छ ।
भारतबाट नेपालीलाई फर्काउन २० वटा नाका तोकिसकिएको छ । अन्य देशबाट नागरिक फर्काउन प्राथमिकता पनि तोकिएको छ। उनीहरुलाई फर्काउने र जोखिम बढ्न नदिने गरी व्यवस्था गर्न सरकारले जिम्मेवारी समेत बाँडफाँट गरेको छ ।
जसअनुसार फर्किएका नेपालीलाई आआफ्नो स्थानीय तहको क्वारेन्टिनसम्म पुर्याउने काम सेनाले गर्ने भएको हो । यसका लागि सेनाले विभिन्न निकायसँग समन्वय गर्नुपर्ने छ ।
भारतबाट आउनेका लागि तोकिएका नाका नजिकै होल्डिङ सेन्टर बनाइने छ। सामुदायिक विद्यालय, सामुदायिक भवन, कभर्ड हल, पार्टी प्यालेस वा अन्य खुल्ला ठाउँमा होल्डिङ सेन्टर तयार गरिने छ ।
भारतबाहेक अन्य देशबाट आउनेका लागि काठमाडौंको चक्रपथ आसपासका पार्टी प्यालेसहरुमा प्रदेशगत रुपमा होल्डिङ सेन्टरको व्यवस्था गरिने छ । कहाँकहाँ होल्डिङ सेन्टर बनाउने भन्ने नेपाली सेना अथवा कोरोना संकट व्यवस्थापन केन्द्रको सहयोगमा स्थानीय प्रशासनले तोक्ने छ ।
भारतबाट आउनेलाई होल्डिङ सेन्टरमै सवारीको व्यवस्थापन गरिनेछ। होल्डिङ सेन्टरमा ज्वरो परीक्षणपछि स्वस्थलाई जिल्ला सदरमुकामसम्म पुर्याउने व्यवस्था नेपाली सेनाको संयोजकत्वमा हुने भएको छ । १००.४ माथि ज्वरो देखिएकालाई आइसोलेसनमा लैजाने जिम्मा पनि सेनालाई नै दिइएको छ ।
सीमामा प्रदेश सरकारसँगको समन्वयमा सेनाले काम गर्नेछ भने अन्य मुलुकबाट फर्किनेलाई जिल्ला नलैजाउन्जेल राख्न काठमाडौंमा बनाइने होल्डिङ सेन्टरको व्यवस्थापन पनि स्थानीय प्रसाशनको सहयोगमा सेनाले नै गर्ने भएको छ ।
सेनाले सम्बन्धित जिल्लामा पुर्याएपछि स्थानीय तहको जिम्मा लगाउने छ । उनीहरुलाई क्वारेन्टिनमा बस्दा खाना वापत केन्द्रीय सरकारले दैनिक १ सय ७५ रुपैयाँका दरले बढीमा १४ दिनको खर्च सरकारले उपलब्ध गराउने छ ।
भारतीय सीमानाकाबाट आउनेलाई क्वारेन्टिनसम्म पुर्याउन यातायातको व्यवस्था प्रदेश सरकारले र अन्य देशबाट आउनेलाई विमानस्थलदेखि होल्डिङ सेन्टरसम्म जाने यातायातको व्यवस्था सीसीएमसीले गर्नेछ । होल्डिङ सेन्टरबाट लैजानका लागि भने सम्बन्धित प्रदेशले नै यातायातको व्यवस्था गर्नेछ। विदेशबाट फर्किनेलाई राख्न मापदण्ड अनुसारका क्वारेन्टिन तयार गर्नु पर्नेछ । तर ती क्वारेन्टिन सञ्चालन, निर्देशन र परिचालन भने नेपाली सेनाले नै गर्ने कार्ययोजनामा उल्लेख छ ।
यस्तै आफ्नै खर्चमा होटलमा बस्छु भन्नेहरुका लागि होटलको व्यवस्था पर्यटन मन्त्रालय र नेपाली सेनाको समन्वयमा स्थानीय प्रशासनले गर्नेछन् । सरकारले तोके अनुसार क्वारेन्टिनमा बसिसकेपछि कोरोना परीक्षण गरिने छ। रिपोर्ट नेगेटिभ आएपछि पनि निश्चित समयका लागि होम क्वारेन्टिनमा बस्नु पर्ने छ । यसअघि सुरक्षा परिषद्बाट निर्णय नभएपनि जोखिम देखिएका क्षेत्रमा सेना परिचालन गरिएको थियो। ती क्षेत्रमा निषेधाज्ञा गरेर सेना खटाइएको थियो ।
यस्तै अन्य ठाउँमा पनि सीसीएमसी मार्फत सेनाले कोरोना संकट व्यवस्थापनमा खटिएको थियो । स्वाब संकलन, स्वास्थ्य सामग्री ढुवानीसँगै अन्य सुरक्षा निकायलाई समेत जोखिम व्यवस्थापनका बारेमा सेनाले तालिम दिएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताउनु भयो । लकडाउन कार्यन्वयनमा समेत ७ हजार ५ सय ८५ जना सैनीक परिचालन गरिएको छ ।
यस्तै ४४ वटा स्थानमा क्वारेन्टिन, इलाम र संखुवासभामा आइसोलेसन तयार गर्न सेनाले सहयोग गरेको थियो । कोरोनाका कारण ज्यान गुमाएकाको शव व्यवस्थापन पनि नेपाली सेनाले नै गर्दै आएको छ ।