एमसीसीविरुद्धको प्रदर्शनमा घन्कियो राजतन्त्र पक्षमा नारा

Politics

काठमाडौँ – मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन गर्न नहुने भन्दै आज (बुधबार) पनि काठमाडौँमा प्रदर्शन भएको छ । काठमाडौँको माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा एमसीसी खारेज गर्न माग गर्दै चर्का नारा लगाइएका छन् । उनीहरुले एमससीकाे विराेधसँगै गणतन्त्र विरोधी नारा पनि लगाएका छन् । ‘गणतन्त्र मुर्दावाद, राजा आउ देश बचाउ’को नारा युवाहरुले लगाइरहेका छन् ।

एमसीसी सम्झौता राष्ट्रघाती रहेको दाबीसहित त्यसलाई पारित गर्न नहुने भन्दै सदन र सडकमा विरोध चर्किरहेको छ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीकै एक पक्षले राष्ट्रघातीको संज्ञा दिँदै एमसीसीलाई यथास्थितिमा पारित गर्न नहुने अडान लिँदै आएको छ।

सरकारले संसदको जारी अधिवेशनबाटै एमसीसी पारित गर्ने तयारी गरिरहेको छ। संसद बैठकमा प्रधानमन्त्री केपी ओलीले अनुमोदनका लागि प्रतिक्षा गरिरहको एमसीसी सम्झौता पारित गर्न सांसदहरुलाई निर्देशन दिएका थिए ।

विरोध बढ्दै गएपछि सत्तारुढ नेकपाले एमसीसीबारे अध्ययन गर्न एक कार्यदल गठन गरेको थियो । पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको उक्त कार्यदलले पनि यथास्थितिमा एमसीसी पास गर्न नहुने सुझाव सरकारलाई दिएको थियो ।

एमसीसीका केही बुदाँ संशोधन गरेर त्यसलाई स्वीकार्न सकिने राय उक्त कार्यदलको छ । तर अमेरिकाले सम्झौतामा कुुनै बुँदा फेर्न नसकिने स्पष्ट पारिसकेको छ ।

अघिल्लो शनिबार बसेको नेकपाको सचिवालय बैठकले एमसीसीबारे अब संसद बैठकले नै टुंगो लगाउने निर्णय गरेको थियो।