पेरिस — कोरोना भाइरस (कोभिड–१९) बाट युरोपकै दोस्रो प्रभावित इटाली युरोपेली पर्यटकका लागि खुला गरिएको छ । भाइरसको महामारीका कारण कमजोर बनेको देशको आर्थिक अवस्था उकास्न इटालीको पर्यटन क्षेत्र बुधबारदेखि खुला गरिएको हो
लकडाउनका कारण संकटग्रस्त अर्थतन्त्र सुधार्न युरोपेली मुलुकका पर्यटकहरु मूल आधार बन्न सक्ने भन्दै इटालीले पर्यटन क्षेत्र सुचारु गरेको फ्रान्स २४ टीभीले जनाएको छ ।
गर्मीयाम सुरु भएसँगै छुट्टी मनाउने युरोपेलीलाई आफ्नो देशमा आकर्षित गरी पर्यटन व्यवसायलाई पुनर्जीवित गराउन सकिने इटालीको विश्वास छ । भेरोना सहरले ‘हाम्रो सहरमा रोमियो र जुलियटजस्तै गरेर भेरोनाको बाल्कोनीबाट प्रेममय फोटो खिच्न सकिन्छ, सेल्फी खिच्न पाइन्छ, रोमियो र जुलियट बन्न सकिन्छ’ भन्दै पर्यटक तान्ने नारा सार्वजनिक गरेको छ ।
त्यसलगत्तै अन्य सहरका मेयरहरुले पनि पर्यटक तान्न प्रतिस्पर्धा थालेका छन् । भेनिस सहरले ‘भेनिसका नहरहरुमा पानीसितको आनन्द लिन पाइन्छ, जलचरहरु प्रत्यक्ष देख्न पाइन्छ’ भन्दै पर्यटक तान्ने प्रयास गरेको छ ।
त्यस्तै, इटालीको दक्षिणी समुद्री किनार कालाब्रियाका गभर्नर जोले सान्तेलीले इटालीमा पर्यटक तान्ने होड सुरु भएको उल्लेख गर्दै भनेका छन् ‘हाम्रो कालाब्रिया आउनुभयो भने यहाँको बालुवामा सुतेर, खेलेर मज्जा लिन पाइन्छ, अहिले शान्त पनि छ ।’
इटालीमा कोभिड–१९ का कारण ३३ हजार ५ सयभन्दा बढीको ज्यान गइसकेको छ । पर्यटक तान्ने उपायहरु सार्वजनिक गरे पनि इटालीमा अझै मानिस शोकमा डुबेका बताइएको छ । त्यसका साथै, भाइरसको दोस्रो लहर फैलिएमा सरकारले सबै क्षेत्रहरु पुन: बन्द गर्न सक्ने सूचना जारी गरेकाले पर्यटकहरु जान हिच्किचाउने जनाइएको छ ।
त्यसका साथै सबै क्षेत्रसमेत सुचारु भइसकेका छैनन् । कोरियर डेला सेरा अखबारले प्रमुख पर्यटकीय क्षेत्र रोमका १ हजार २ सय होटलमध्ये ४० वटा खुला भएका जनाएको छ ।
‘होटलवालाहरु सबैले आफ्नो व्यवसाय खुला गर्न चाहन्छन् । तर छिमेकीसँगको सीमा र अन्तर्राष्ट्रिय उडान सुचारु नभएसम्म पर्यटक आउने छैनन्,’ इटालीको होटल एसोसिएसनका उपाध्यक्ष मार्को मिसिएलीले भनेका छन् ।