काठमाडौँ – नेपालमा बिहिबार थप २ सय ५० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप ३२३ जनाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको बताउनु भयो ।
डाक्टर गौतमका अनुसार अहिले कोरोनाबाट मृत्यु हुनेको संख्या अहिलेसम्म १५ पुगेको छ । बिहिबार १ सय ८७ गरी अहिलेसम्म जम्मा ८ सय ६१ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् ।
बिहिबारसम्म पीसीआर विधिबाट १ लाख १५ हजार ९ सय ३० र आरडिटी विधिबाट १ लाख ७८ हजार १ सय ४३ वटा परीक्षण भएका छन् । गत २४ घण्टामा पीसीआर विधिबाट ५ हजार १ सय ९४ र आरडिटी विधिबाट ५ हजार २ सय ६३ वटा नमुना परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताउनुभयो । अहिले देशभरीका विभिन्न आइसोलेसनमा ३ हजार ७ सय ३८ जना उपचाररत रहेका छन् । देशभरी १ लाख ६२ हजार १३ जना क्वारेन्टाइनमा रहेका छन् ।
कुन प्रदेशमा कति संक्रमित ?
नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ६ सय १४ पुग्दा सबैभन्दा बढी प्रदेश २ का ८ जिल्लामा १ हजार ६ सय ७१ जनामा कोरोना पुष्टि भएको छ। यो प्रदेशगत हिसाबले सबैभन्दा बढी संक्रमित प्रदेश हो।
यस्तै प्रदेश ५ का १२ जिल्लामा गरी १ हजार ३ सय ९९ जनामा कोरोना पुष्टि भएको प्रवक्ता गौतमले बताए। यो संक्रमित बढी हुनेमा प्रदेश २ पछिको दोस्रो प्रदेश हो।
त्यस्तै कर्णाली प्रदेशका ९ जिल्लाका ७६९, प्रदेश १ का १३ का ३०७, सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका १९२, बागमती प्रदेशका १२ का १४७ र गण्डकी प्रदेशका ९ जिल्लाका १४७ जनामा कोरोना पुष्टि भएको प्रवक्ता गौतमले बताउनु भयो ।