अब अपुताली खान नातामै हुनुपर्दैन

News

कठमाडौं- सर्वोच्च अदातलतले अपुतालीको सम्पत्ति खान परिवार वा नातावाला नै हुनु नपर्ने नजिर निर्माण गरेको छ।

नवलपरासीका नारायाण थारु ,इन्द्रकुमारी देवी र हरेन्द्रकुमार चौधरीको अंश मुद्दामा सर्वोच्च अदालतका तीन न्यायाधीशको इजलाशले यस्तो व्याख्या गरेको हो। न्यायाधीशहरु सपनाप्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र हरिप्रसाद फुयाँलको इजलाशले २०७६ पुस ३ गते गरेको अंश विवाद सम्वन्धी मुद्दामा फैसला गर्दै यस्तो नजिर कायम गरेका हुन्।

अपुताली हक कायम हुनुपर्ने दाबी गर्दै नारायाणप्रसाद थारुले इन्द्रकुमारी देवी र हरेन्द्रकुमार चौधरी विरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका थिए। सर्वोच्चको यो फैसलापछि अब अपुताली उसको पालन पोषण गर्ने नाता बाहिरको व्यक्तिले पनि पाउनसक्ने भएको छ।

सर्वोच्चले अंश र अपुताली फरक विषय भएकाले यसको दाबी पनि फरकफरक हुने व्याख्या फैसलाको पूर्णपाठमा गरेको छ। मंगलबार प्रकाशित भएको पूर्णपाठमा कानुनमा नै अंशवण्डा र अपुताली सम्बन्धी छुट्टै महल तथा हकवालाको क्रम नै छुट्टै व्यवस्था भएको अवस्थामा अंश र अपुताली एउटै हो भनी मान्ने नसकिने उल्लेख छ।

‘अंश हकमा नातालाई हेरिन्छ भने अपुतालीमा नातावाला नै हुनुपर्छ भन्ने छैन’, सर्वोच्चको फैसलामा भनिएको छ, ‘स्याहार संभार गर्ने व्यक्तिले पनि अपुताली पाउन सक्दछ वा कानुनले कायम गरेको मर्नेको हकवालाले पनि अपुताली प्राप्ती गर्न सक्छ।’

तर हकवालाको क्रमभित्र पनि को नजिकको हो भन्ने क्रम कायम गर्दा रगतको नाता नै नजिकको हकवाला हुने सर्वोच्चको पूर्णपाठमा उल्लेख छ। आफ्नो रगतको गर्भको सन्तान हुँदाहुँदै सौतेनी सन्तान नजिकको हकवाला कायम हुन नसक्ने सर्वोच्चको फैसलामा उल्लेख छ।

‘अपुताली पर्दा मर्नेको लोग्ने, स्वास्नी, छोरा वा छोराका छोरा भएसम्म छोरीले अपुताली पाउँदैन। त्यस्ता कोही नभए छोरीले अपुताली पाउँछ’, सर्वोच्चको पूर्णपाठमा भनिएको छ, ‘छोरीहरुमध्ये कोही कन्या र कोही विवाह भएकी वा पोइल गएकी भए प्रत्येक कन्या छोरीले दुई खण्ड र प्रत्येक विवाह भएकी वा पोइल गएकी छोरीले एक खण्डको हिसाबले अपुताली पाउँछ। छोरी नभए सँग बसेका हकवाला भए त्यस्ता हकवालाले र त्यस्ता हकवालाला नभए अरु हकवालाले अपुताली पाउँछ।’

सोही महलको तत्कालीन ४ नं.मा सँग बसेका वा भिन्न बसेका बाबु छोरामा अघिबाट छोरो र पछिबाट बाबु मरी अपुताली परेकोमा त्यो अपुताली छोरीहरुले पाउने रहेछन् भने बाबुकी छोरी र छोराकी छोरी दुवै भए दुवैले बाँडी खान पाउँने सर्वोच्चको फैसलामा उल्लेख छ। भिन्न नभई सँग बसेका अरु अंशियारहरुमा सबै मरी अपुताली पाउने भएमा सबै अंशियारहरुका छोरीहरुले ऐन बमोजिम बाँडी खान पाउँने सर्वोच्चको फैसलामा उल्लेख छ।