काठमाडौँ – रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ को सोतीमा भएको घटनाको छानबिन गर्न सरकारले गठन गरेको छानबिन समितिले पनि प्रतिवेदन बुझाएको छ ।
गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले समितिले प्रतिवेदन बुझाएको जानकारी दिँदै दोषीलाई कानुनबमोजिम कारबाही गर्न सिफारिस गरेको जानकारी दिनुभयो ।
सोही वडाका वडाध्यक्ष समेत घटनामा मुख्य दोषी देखिएको गृहको छानबिन समितिको ठहर छ । समितिले वडाध्यक्षले गाउँलेहरुलाई जुटाएको, गोइरी औलका व्यक्तिहरुलाई समेत गलत सूचना दिएर बाटो छेक्न लगाएको गृहले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।
घटनाको विस्तृत छानबिन तथा अनुसन्धानपश्चात् कारबाही प्रक्रिया अगाडि बढेको गृहले जनाएको छ । आइतबार प्रहरीले ३४ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।
घटनाको छानविनका लागि गृह मन्त्रालयले मन्त्रलयका सहसचिवको नेतृत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत प्रतिनिधि, महान्यायाधिवक्ताको कार्यालयका अधिकृत प्रतिनिधि र गृह मन्त्रालयका उपसचिव रहने गरी छानबिन समिति गठन गरेको थियो ।