काठमाडौं – जुन १२ तारिख नेपाल भित्रिएको मनसुन अहिले सक्रिय बनेको मौसमविद्ले बताएका छन् ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार मनसुनअन्तर्गत अहिले भारतको पूर्व�� उत्तर प्रदेशमा निम्न चापीय प्रणाली बनेको छ । जुन नेपालनजिकै पर्छ ।
यसैकारण नेपालमा मौसम बदली अझ तीव्र बन्दै गएको उनको भनाइ छ ।
उनका अनुसार आज (शुक्रबार) पनि देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भवना छ। साथै प्रदेशहरू १, २, बागमती, गण्डकी र ५ का एक-दुई स्थानमा भारी (ठूलो) वर्षा हुने सम्भावना छ ।
अहिले (शुक्रबार बिहान) पनि देशका केही स्थानमा वर्षा भइरहेको हुन सक्ने मौसमविद् प्रधानांगले बताए ।
काठमाडौं उपत्यकामा पनि मध्यमसम्म वर्षा हुने अनुमान गरिएको छ । हिजो (बिहीबार) काठमाडौं उपत्यकामा २३ मिलिमिटर वर्षा भएको मौसमविद् प्रधानांगले जानकारी दिनुभयो ।
देशका अन्य स्थानमा भएका वर्षाको तथ्यांक भने बिहान पौने ८ बजे मात्र आइपुग्ने पनि उनले जानकारी दिनु भयो ।
आगामी तीन दिन (आइतबारसम्म) वर्षा जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।