काठमाडौँ – अर्थमन्त्री युवराज खतिवडाले कोरोना भाइरसबाट असर परेको अर्थतन्त्रमा भी -v_ सेप रिकभरी हुने स्थिति अझै पनि रहेको बताएका छन् ।
राष्ट्रियसभाको शुक्रबारको बैठकमा आर्थिक विधेयक २०७७ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि भएको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थतन्त्रको रिकभरी भी सेपमा हुन सक्ने बताएका हुन् ।
उनले भूकम्पपछि आर्थिक संरचनामा क्षति हुँदासमेत अर्थतन्त्रलाई भी सेपको रिकभरी गरिएको उल्लेख गर्दै अहिलेको अवस्थामा पनि भीसेपको रिकभरी सम्भव भएको बताए । “भूकम्पपछिको पुनर्निर्माणमा पनि यो धेरै विषय चलेको थियो कि अब अर्थतन्त्र थला पर्यो उठ्नै सक्दैन भन्ने विषय उठेको थियो । त्यो बेला हाम्रा आर्थिक संरचनाहरू पनि भत्किएका थिए,” उनले भने, “तर हामीले भीसेपको रिकभरी गर्यौं, भूकम्पपछिको पुनर्निर्माणको चरणमा । त्यसैले हाम्रो इतिहास, हाम्रो अनुभव र हाम्रा प्रयासलाई हेर्ने हो भने हामी फेरि पनि भीसेपको रिकभरीमा जान सक्छौं ।”
अर्थमन्त्री खतिवडाले अर्थतन्त्रका केही सवल पक्ष कायम रहेकाले त्यसलाई परिचालन गर्दा श्रम बजारको समस्या र आपूर्ति शृङ्खलालाई सहज बनाउन सजिलो हुने बताए । निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उपकरणहरूमा सरकारले सहजीकरण गरिरहेको समेत बताए । बैंकिङ प्रणालीबाट कर्जा प्रवाह गर्ने, विद्युतमा छुट दिनेलगायत विषयमा सरकारले जोड दिएको स्पष्ट पारे । उनले मुलुकमा झन्डै तीनचौथाइ लगानी निजी क्षेत्रको रहेकाले निजी क्षेत्रलाई सरकारले बिर्सन नसक्ने बताए । उनले मुलुकको खाद्य सुरक्षा, ऊर्जा सुरक्षा, रोजगारीको सुरक्षा र स्वास्थ्य सुरक्षासम्बन्धी विषयमा आत्मनिर्भर हुने गरी आर्थिक गतिविधिलाई अगाडि बढाउनुपर्ने बताए ।
यस्तै राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको समेत अर्थमन्त्री खतिवडाले जवाफ दिएका छन् । कोभिडको जोखिमले अर्थतन्त्रमा ल्याएको शिथिलताको अवस्थामा सरकारले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा अर्थमन्त्री खतिवडाले जोड दिए । उनले सरकारले आन्तरिक ऋण उठाउँदैमा निजी क्षेत्रको लगानी नघट्नेसमेत स्पस्ट पारे । निजी क्षेत्रको लगानी बढाउन विभिन्न क्षेत्रलाई खुला गरिएको अर्थमन्त्री खतिवडाले बताए । “मुलुकभरिमा आम्दानीको उपभोगलाई कटाएर रहेको रकमको एकतिहाइजति सरकारले लिन खोजेको हो । त्यो लगानीको अनुपातमा हो ।
निजी क्षेत्रलाई बाहिरबाट लगानी ल्याउन प्रोत्साहित गर्न बाहिरबाट जुन ऋण ल्याउनुहुन्छ हाम्रो बैंकिङ प्रणालीको मित्रहरूले त्यो ल्याउने ऋणमा त्यसलाई निक्षेपका रूपमा लिने हो भने टीडीएसका रूपमा घटाइदिएको छ । ताकि बैंकहरूले पनि विदेशबाट ऋण परिचालन गरेर पनि लगानी बढाउन सकून् भनेर अरू स्रोतहरू पनि निजी क्षेत्रका लागि खुला गरिदिएको छ,” उनले भने, “त्यसैले सरकारले बजारबाट पैसा आफ्नो विकास खर्च पूरा गर्न उठाइरहँदा निजी क्षेत्रलाई पुग्ने गरी र नपुग भए विदेशबाट समेत परिचालन गर्ने व्यवस्था गरेको छ । सरकारले आन्तरिक ऋण उठाउने कारणले निजी क्षेत्रलाई उपलब्ध हुने स्रोत संकुचित हुँदैन ।”
ऋण तथा जमानत (चौबीसौं संशोधन) विधेयक २०७७ माथि विचार गरियोस् भन्ने प्रस्तावमा भएको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले सरकारले जमानत बस्दा व्यावसायिक सम्भावना भएका क्षेत्रहरू हेरेर मात्रै जमानत बस्ने बताए । उनले वित्तीय रूपमा सबल भएका सार्वजनिक संस्थाले आफै ऋण परिचालन गर्न सक्ने र वित्तीय अवस्था सुदृढ नभएको संस्थालाई उकास्नुपर्ने भए सोचेर मात्रै सरकारले काम गर्ने स्पष्ट पारे ।