डोटीमा करेन्ट लागेर १ महिलाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाकी २७ वर्षीया वाटुदवी बाग रहेकी छिन् ।
शनिबार दिउँसो नुहाउन भनेर गएकी बागको करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको स्थानीय मिलन नेपालीले जानकारी दिए ।
कोरोना प्रभावित व्यक्ति धारामा नुहाउन आउने भन्दै स्थानीय १९ वर्षीय सुर्ज किमाडीले पानीको ट्याङ्कीमा बिजुलीको तार हालेका स्थानीयले आरोप लगाएका छन्।
सार्वजनिक धारामा भारतबाट आएका कोरोना संक्रमित पनि पानी भर्न आउने गरेको भन्दै करेन्ट छाडेको किमाडीले स्वीकार गरेका डोटीका प्रहरी नायव उपरीक्षक ईन्द्र मल्लले बताए।
करेन्ट छोड्ने किमाडीलाई इलाका प्रहरी कार्यालय आदर्शले नियन्त्रणमा लिएको उनको भनाइ छ । घरबाट बिजुलीको तार र धाराको ग्याबिन जालीको तार जोडेर धारामा समेत करेन्ट प्रवाह भएको थियो ।
मृतक महिला स्थानीय विद्यालयमा बाल विकास सहयोगी कार्यकर्ता पनि रहेको जनाइएको छ । अहिले उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा राखिएको छ ।