डडेल्धुरामा आइसोलेसनमा रहेका ८ कोरोना संक्रमित भागेका छन् । जिल्लाको परशुराम नगरपालिका-१२ मा रहेको शिद्धनाथ आधारभूत विद्यालयको आइसोलेसनमा रहेका ८ संक्रमित शनिबार भागेका हुन् ।
वडा नं ५ मा रहेको क्वारेन्टानमा रहेका उनीहरूमा शुक्रबार कोरोना पोजिटिभ देखिएको थियो । कोरोना पुष्टि भएपछि उनीहरूलाई आइसोलेसनमा राख्ने भनेर शिद्धनाथ आधारभूत बिद्यालयमा ल्याइएको थियो ।
भागेका संक्रमितलाई नियन्त्रणमा लिइसकेको र उनीहरूलाई आइसोलेसनमा राखिएको डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए ।
शुक्रबार राति र शनिबार दिनभरी भोकै राखेको र अन्य कोरोना पोजिटिभ गाउँमा नै बसेकोले आफूहरू भागेको संक्रमितले बताएका छन् । खानाको समस्या भएर उनीहरू भागेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए ।
‘आइसोलेसनमा खाना/बस्नको व्यवस्था राम्रो भएन । त्यही भएर व्यवस्थापन राम्रो बनाउन दबाब दिनका लागि उनीहरू भागेका हुन्’, प्रजिअ पन्तले भने ।