दाङस्थित घोराही उपमहानगरपालिकाले चार विद्यालयलाई नजिकैको अर्को विद्यालयमा समायोजन गरेको छ । विद्यार्थी संख्या न्यून रहेकाले ती विद्यालयलाई समायोजन गरिएको उपमहानगरपालिका, शिक्षा, युवा तथा खेलकूद महाशाखाले जनाएको छ ।
महाशाखाका प्रमुख विनोद गौतमले नगरपालिका बैठकको निर्णयानुसार घोराही –६को प्रावि गुरुवा गाउँलाई सोही वडाको मावि जजरागाउँ र प्रावि पक्वैलाई जयशेर माविमा समायोजन गरिएको जानकारी दिए ।
त्यस्तै वडा नं १८ को प्रावि मसिनालाई सोही वडाको मावि रझेना, वडा नं ७ को प्रावि घुस्रालाई सोही वडाको मावि सौडियार र वडा नं १२ को प्रावि पेदाको कक्षा ४ लाई मावि हापुर विजौरीमा समायोजन गरिएको गौतमले जानकारी दिए ।
विद्यालयको समायोजन पत्रानुसार उपमहानगरले निर्णय लिएको महाशाखाले जनाएको छ । महाशाखाले विद्यालयमा रहेका विद्यार्थी सङ्ख्याका आधारमा गत पुसमा उपमहानगरपालिकाभित्र शिक्षक दरबन्दी मिलान गरिसकेको छ ।