गत शुक्रबार संयुक्त अरब एमिरेट्स यूएईको दुबईबाट पहिलो चार्टर उडान मार्फत १ सय ४८ जना नेपाली लिएर नेपाल एयरलाइन्सको आरए २२९२ नम्बरको जहाज नेपाल फर्कियो।
फर्किएका सबै जना दूतावासको फारम भरेर प्राथमिकतामा परेका नेपाली श्रमिक हुन्। फर्किने मध्ये १ सय १ जना महिला र ४७ जना पुरुष रहेका थिए।
१ सय १ जना महिलामध्ये ९४ जना गर्भवती छन्। उडानमा १० जना बिभिन्न रोगका कारण बिरामी छन् भने १० जना रोजगारदाता भागेपछि अलपत्र नेपाली श्रमिक थिए भने ३ जना ज्येष्ठ नागरिक पनि थिए। सामाजिक सञ्जाल प्रयोगकर्ताहरू लगायत नेपाली मिडियाहरूले विभिन्न हेडलाइन राखेर समाचार प्रकाशन गर्न पनि भ्याए।
सामाजिक सञ्जालमा ब्यापक नकारात्मक सन्देश फैलाएको भन्दै एनआरएनए युएई उपाध्यक्ष पासाङ्ग शेर्पाले भने शुक्रबार नेपाल फर्केका ९४ जना गर्भवती चेलीहरू यो महामारीको समयमा युएईको महँगो प्रसुती खर्च जोगाउन वा आफ्नै देशमा आफन्त परिवार माझ सुलभ प्रसुती र हेरचाह हुन्छ भनेर फर्केका वैधानिक गर्भवतीहरू भएको बताए।
उपाध्यक्ष पासाङ्ग शेर्पाका अनुसार २७ जनाका त श्रीमानहरू पनि सँगै फर्केका थिए भने अन्यका श्रीमानहरू एयरपोर्टसम्म छोड्न आएका थिए। बाँकी यूएईमै कार्यरत रहेको र भिजिट भिसामा श्रीमान् भेट्न यूएई पुगेकाहरू थिए ।
शेर्पाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,
“दुबई एअरपोर्टमा म स्वयं र विकास शाही सबै यात्रुहरूको सहजिकरणको लागि खटेका थियौ भने हरेक यात्रुसँग हामीले आफै अन्तरक्रिया समेत गरेको हुनाले सामाजिक सञ्जालमा देखिएको नकारात्मक टिप्पणीहरू आधारहीन भएको जानकारी गराउनुका साथै सबै विकृत मानसिकताको उपजका कारण लेख्ने टिप्पणीकारको तुच्छ सोचलाई हार्दिक श्रद्धाञ्जलीको लोप्पाले लोपारिदिएको जानकारी समेत गराउँदछु। तसर्थ आम सञ्चार जगत विशेष गरि नेपाली मिडियाले सत्य तथ्य बुझेर मात्र कलम चलाउँदा उचित होला। सोच अलि बदलौँ कसैको पनि चरित्र हत्या गरेर लाइक कमेन्ट बटुल्ने काम नगरौँ।”