जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को वैवाहिक अंगीकृत नागरिकतासम्बन्धी निर्णय गलत भएको बताएका छन् ।
शनिबार नेकपाले नेपाली पुरुषसँग विवाह गरेर आउने अन्य देशका महिलालाई सात वर्षपछि अंगीकृत नागरिकता दिने निर्णय गरेको थियो । आइतबार नेकपाको निर्णयमाथि प्रतिक्रिया दिँदै अध्यक्ष यादवले नेकपाको निर्णय विवेकहीन, साम्प्रदायिक र विभेदकारी भएको प्रतिक्रिया दिएका हुन् ।
अध्यक्ष यादवले नागरिकता प्राप्ति गर्ने प्रक्रियामा पुरुष र महिला अर्थात् बुहारी र ज्वाईबीच असमानता र विभेद हुन नहुने बताए । ‘कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले नेपालीसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने विवेकहीन, सम्प्रदायिक र विभेदकारी निर्णय गरेको छ’, सामाजिक सञ्जाल ट्विटरमा अध्यक्ष यादवले ट्विट गरेका छन्, ‘नागरिकता प्राप्ति गर्ने प्रक्रियामा पुरुष र महिला अर्थात् बुहारी र ज्वाईबीच असमानता र विभेद हुनुहुहुन्न ।’
कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले नेपालीसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगिकृत नागरिकता दिने विवेकहीन,सम्प्रदायीक र विभेदकारी निर्णय गरेको छ । नागरिकता प्राप्ति गर्ने प्रक्रीयामा पुरुष र महिला अर्थात बुहारी र जूवाई बीच असमानता र विभेद हुनुहुहुन्न ।
नागरिकता संशोधन विधेयकका लामो समयदेखि संसदमा विचाराधीन रहेको छ । पटक-पटक यसका प्रावधानहरुमा छलफल भएपनि सहमति जुट्न सकेको छैन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र मधेसवादी दलहरुले अहिलेकै प्रावधान अनुसार विवाहलगत्तै अंगीकृत नागरिकता प्राप्त गर्न सक्ने प्रावधान राख्नुपर्ने बताउँदै आएका छन् । अहिलेको प्रावधानअनुसार नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाले बिहेलगत्तै नागरिकता पाउने प्रावधान छ ।
विधेयक अहिले संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा रहेको छ । समितिमा अहिले अंगीकृत नागरिकताको विषयमा नै छलफल भइरहेको छ । समितिको छलफलमा सहमति जुट्न नसकेपछि गृहमन्त्री रामबहादुर थापाले राजनीतिक सहमतिका लागि भन्दै एक हप्ताको समय मागेका छन् ।