भारतका रक्षामन्त्री राजनाथ सिंह रुसको तीन दिने भ्रमणमा

International

भारतका रक्षामन्त्री राजनाथ सिंह रुसको तीन दिने भ्रमणमा छन् । यस क्रममा उनले रुसका उच्च सैन्य अधिकारीसँग वार्ता गर्नेछन् र दोस्रो विश्वयुद्धमा नाजी जर्मनीलाई पराजित गर्ने ७५औं वार्षिकोत्सवको उपलक्ष्यमा हुने विशाल सैन्य परेडमा भाग लिनेछन् ।

कोरोना महामारीपछि पछिल्लो चार महिनायता यात्रामा लगाइएको प्रतिबन्धपछि यो एक वरिष्ठ केन्द्रीय मन्त्रीको पहिलो विदेश भ्रमण हो । भारतीय रक्षामन्त्री सिंहको रुस भ्रमण त्यस्तो समयमा भइरहेको छ, जतिबेला सीमा क्षेत्र लद्दाखमा चीनसँग भारतको झडप भएको छ ।

सोमबार मस्को प्रस्थान गर्नुअघि राजनाथ सिंहले ट्विट गरेका छन्, ‘म मस्कोको तीनदिने भ्रमणमा छु। यो यात्राले भारत र रूस रक्षा र रणनीतिक साझेदारीलाई सुदृढ पार्न वार्तालापको अवसर प्रदान गर्छ ।’

भारतीय रक्षा मन्त्रालयका वरिष्ठ अधिकारीहरूले भनेका छन्– चीनसँग सीमामा तनाव भइरहेका बेला पनि रक्षामन्त्रीले रुस भ्रमण स्थगन गरेनन्, किनभने रुससँग भारतको दशकौं पुरानो सैनिक सम्बन्ध छ र रक्षामन्त्री सिंहले दुई देशबीच सैनिक सहयोग बढाउने विषयमा त्यहाँका उच्च अधिकारीसँग छलफल गर्नेवाला छन् ।

रक्षामन्त्री सिंहको भ्रमणलाई भारतीय सञ्चारमाध्यमले भारतको सैन्य क्षमता बढाउने प्रयासका रूपमा विश्लेषण गरेका छन् । भारतका धेरै अखबारले लेखेका छन्– लद्दाखमा आफ्नो शक्ति बलियो बनाउन उनी रुस गएका हुन्, ताकि चीनसँग लड्न सकियोस् ।

तर विश्लेषक के भन्छन् भने भारत सरकार ढिला जाग्यो, कोरोना महामारीका कारण अब रुसबाट भारतमा हतियार र रक्षा प्रणाली आयात गर्न बढी समय लाग्छ। तर रक्षमन्त्री सिंहले जतिसक्दो चाँडो हतियार निर्यातका लागि रुससँग आग्रह गर्नेछन् ।