काठमाडौं महानगरपालिका– ४ मा ९६ वर्षीया महिलाको वृद्ध भत्ता किर्ते गरेर अन्यलाई दिएको विषयमा त्यहाँका युवाहरुले वडा कार्यालय घेराउ गरेका छन् । गीताञ्जली मार्ग बस्ने ९६ वर्षीया चिजमाया लिम्बूको बृद्धभत्ता उपलब्ध नगराएको विरोधमा उनका आफन्त र त्यहाँका युवाहरुले विरोध प्रदर्शन गरेका हुन् ।
आफन्तले उनको वरिष्ठ ज्येष्ठ नागरिक महानगर भत्ता उपलब्ध गराउनका लागि वडा कार्यालयलाई आग्रह गरेका थिए । वडा कार्यालयले भत्ता वितरण भइसकेको भनेर दिन अस्वीकार गरेपछि युवाहरुले वडा कार्यलयले वृद्धभत्ता अपचलन गरेको आरोपमा विरोध प्रदर्शन गरेका हुन् । पक्राउ परेका वृद्धाका नातिहरू सुमन लिम्बू र सुरज गुरुङको रिहाईको माग गर्दै तरुण दलले समेत विरोध सुरु गरेका हुन् ।
वृद्धाले पनि मंगलबार वडाध्यक्ष विष्ट, वडा सदस्य दिनेश महर्जन र ध्रुवप्रसाद त्रिपाठीविरुद्ध किर्ते मुद्दामा प्रहरीमा जाहेरी दिएकी छिन् । आफ्नो १२ हजार वृद्ध भत्ता किर्ते गरेर कर्मचारीले लिएको भन्दै उनले जाहेरी दिएकी हुन् । वडाध्यक्ष विष्टले भने भत्ता वितरण गर्ने क्रममा एउटा व्यक्तिको नाममा अर्काेले हस्ताक्षर गर्दा समस्या भएको बताए ।