सोमालियाको सुरक्षा फौजले गरेको सैन्य कारवाहीमा मारिएका इस्लामिक समुह अल सवाबका कमाण्डर नेपाली रहेको दावी गरिएको छ ।
सोमालियाको सेनाले गत विहीबार दक्षिणी सोमालियाको मध्य जुबा क्षेत्रमा इस्लामिक विद्रोही संगठन अलसवाबविरुद्ध सैन्य कारवाही गरेको थियो ।
सो कारवाहीमा मारिएका अल सवाबका कमाण्डर भनिएका असरफ अज्मी अबु हमदानलाई नेपाली नागरिक भएको त्यहाँको राज्यस्तरीय रेडियोलाई उद्धृत गर्दै अफ्रिका न्युजले लेखेको छ । हमदान ईस्लामिक समुह अल सवाबका मुख्य प्रशिक्षक रहेको समाचारमा उल्लेख छ ।
नेपाली भनेर दावी गरिएका हमदानसंगै अलसवाबका अन्य तीन जना लडाकुहरु पनि सैन्य कारवाहीका क्रममा मारिएको बताइएको छ ।
इस्लामिक संगठन अल सवाबले इस्लामिक सरिया कानूनमा आधारित छुट्टै राज्य स्थापनाका लागि त्यहाँको केन्द्रीय सरकारविरुद्ध सन २००८ देखि सशस्त्र विद्रोह गर्दै आएको छ ।