६९ वर्ष अघि पनि अहिले सरकारले लगाएको जस्तो नाइट कर्फ्यु प्रचलनमा थियो भन्ने कुरो धेरैलाई थाहा नहुन सक्छ। त्यतिबेलाको नेपाल गजेटमा जङ्गी अड्डाको एउटा सूचना प्रकाशित भएको थियो। विक्रम संवत् २००८ साल फागुन ६ गतेको यो सूचनामा ‘आजदेखि बेलुकाको तोप चल्ने टायम ११ बजे रातको र बिहानको तोप चल्ने टायम ४ बजे हुने श्री माननीय प्रधानमन्त्रीज्युबाट आदेश भएको छ’ लेखिएको छ।
त्यतिबेला रातिको तोप पड्कनुको अर्थ हुन्थ्यो- बाहिर निस्कन नपाइने। अर्थात् अचेलको भाषामा नाइट टाइम कर्फ्यु। बिहानको तोप चल्यो भने चाहिँ त्यसको अर्थ अब हिँड्न हुन्छ भन्ने थियो।
गृह मन्त्रालयले लकडाउन खुकुलो भएपछि व्यवस्थित गर्न लागू गरेको सुरक्षा मापदण्डमा पनि राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक काम बाहेक हिँड्डुल गर्न पूर्णतः निषेध गर्ने उल्लेख छ।
६९ वर्षपछि फेरि राति र बिहान तोप पड्कने बेलाको जस्तो चलन आएछ।
तोप पड्काउने काम नाइट कर्फ्यु हटिसक्दा पनि मध्याह्न १२ बजे पनि पड्काइन्थ्यो। समयको जानकारी र व्यस्त समयमा पनि भगवानको स्मरणको लागि भन्दै मध्यदिन बाह्र बजे राणा प्रधानमन्त्री देवशम्शेरले तोप हान्ने चलन चलाएका थिए । यो प्रथालाई ८६ वर्षपछि २०४४ साल चैत २४ गते गोरखापत्रमा सूचना छापेर २०४५ साल बैशाख १ गतेदेखि बन्द गरिएको थियो।
८६ वर्ष पुरानो परम्परा बन्द गरियो, तोप पड्काइरहन आदेशको माग गर्दै नेपाल ल क्याम्पस, स्नातक तह तेश्रो वर्षमा अध्ययनरत अभिवक्ता तिर्थराज बसौंलासमेतले रक्षा मन्त्रालयविरुद्ध मुद्दा दायर गरे। तर अदालतले रिट खारेज गरिदिएको थियो।