विश्व बैंकले फारिस हदाद जर्भोसलाई नेपालको लागि नयाँ राष्ट्रिय निर्देशकमा नियुक्त गरेको छ । जर्भोसले नेपालसहित माल्दिभ्स र श्रीलंकाको समेत राष्ट्रिय निर्देशकको जिम्मेवारी निर्वाह गर्नेछन् ।
जर्भोसले बुधबारबाटै आफ्नो जिम्मेवारी सम्हालेको विश्व बैंकले जनाएको छ । यसअघि नेपाल, श्रीलंका र माल्दिभ्सको राष्ट्रिय निर्देशक रहेकी आइडाजी पस्वराई रिद्धीहोलाई विश्व बैंकमै अर्को नयाँ जिम्मेवारी दिइएको छ । हदाद जर्भोस सन् १९९६ देखि विश्व बैंकसँग आबद्ध छन् ।
उनले यसअघि मलेसिया र बोलिभियामा पनि राष्ट्रिय प्रबन्धकको रूपमा काम गरिसकेका छन् । उनी अमेरिकी नागरिक हुन् । उनले यसअघि खाडी सहकार्य राष्ट्रहरूमा प्राविधिक सहकार्य प्रबन्धक, इराकमा मिसन प्रमुख र वेष्ट बैंक र गाजा क्षेत्रमा सञ्चालन प्रबन्धकका रूपमा समेत काम गरिसकेको विश्व बैंकले जनाएको छ । विश्व बैंकले कोरोनापछि मल्दिभ्स, नेपाल र श्रीलंकालाई ३५ करोड डलरभन्दा बढीको आपतकालीन सहयोग गरिरहेको छ ।