रामबहादुर बमजनविरुद्ध मुद्दा दायर, १४ वर्ष कैद सजाय माग

Crime

आफ्नै आश्रमकी आनीलाई बलात्कार गरेको अभियोगमा लिटल बुद्धका नामले चिनिने रामबहादुर बमजन (रामलाल बमजन) विरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय, सर्लाहीले बिहीबार जिल्ला अदालतमा जबर्जस्ती करणी मुद्दा दायर गरेको हो । पटकपटकको पक्राउ प्रयास असफल भएपछि फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।

१४ वर्षसम्म कैद सजाय माग दाबीसहित मुद्दा दायर गरिएको सर्लाहीका जिल्ला न्यायाधिवक्ता केशवप्रसाद गौतमले बताए । १४ देखि १६ वर्ष उमेरको बालिकालाई बलात्कार गरेको कसुरमा १२ देखि १४ वर्षसम्म कैद सजाय हुने प्रावधान मुलुकी अपराध संहितामा रहेकोले त्यहीअनुसार मागदाबी लिएर मुद्दा दायर गरिएको उनले जानकारी दिए ।

बमजनका दुई सहयोगीलाई समेत मतियारका रूपमा मुद्दा दायर भएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को सहयोगमा सर्लाही प्रहरीले बमजनमाथि अनुसन्धान गरेको थियो । २० साउन ०७३ मा उनले सर्लाहीको आश्रममा १६ वर्षीया आनीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

धम्क्याएर पटक–पटक बलात्कार गरेको पीडितको उजुरीको आधारमा प्रहरीले उनीमाथि अनुसन्धान गरेको थियो । उनका कर्तुत सार्वजनिक भएपछि घटनाको दुई वर्षपछि पीडितले जाहेरी दिएकी थिइन् ।

जाहेरीको आधारमा गत २३ फागुनमा जिल्ला अदालत सर्लाहीले बमजनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसयता प्रहरीले सिन्धुलीस्थित उनको आश्रममा तीनपटक छापा मारे पनि उनी भने पक्राउ परेनन् ।  मुद्दाको हद म्याद सकिन लागेकाले  फरार बनाएर उनीविरुद्ध मुद्दा दायर भएको हो ।