सरकारले विकासका नाममा उर्वर भूमि विनाश गरेको भन्दै ललितपुरका खोकनाबासी आन्दोलित बनेका छन् ।
सोहि बस्ती हुँदै सरकारले फास्ट ट्रयाक निर्माणको योजना अघि सारेपछि खोकनाको नेवा सभ्यता र उर्वर भूमि नै विनास हुने भन्दै स्थानीय त्यसको विरोधमा उत्रिदा झडप हुनेसम्मको स्थिती सिर्जना हुन थालेको छ ।
फास्ट ट्रयाकमा पर्ने जग्गामा धान रोप्न थालेपछि ललितपुर खोकनाका स्थानीय र प्रहरीबीच झडप शनीबार झडप नै भयो । विकासका नाममा उर्वर भूमि विनाश भइरहेको भन्दै विरोध स्वरुप धान रोपिरहेका किसानलाई प्रहरीले अवरोध गरेपछि झडपको स्थिती सिर्जना भएको हो । प्रहरीले स्थानीयलाई धान रोप्न नदिएपछि नाराबाजी सुरु गरेका थिए । ‘फास्ट ट्रयाक चाँहिदैन किसान मार्न पाईदैन’, ‘भूमाफिया होसियार’, ‘सम्पूर्ण किसान एक होऔँ’ भन्ने नारा लगाएर प्रहरीलाई ढुंगामुडा प्रहार गरेपछि झडपको अवस्था आएको हो ।
नेवाहरुको आफ्नो भूमि माथिको अधिकार भएपछि सरकारले विकास परियोजनाका नाममा हराभरा र उर्वर भूमिलाई विनाश गर्ने हिसाबले काम गरिरहेकाले विरोध गरिएको उपत्यकाव्यापी सडक पीडित संघका कोषाध्यक्ष विद्या श्रेष्ठले बताए । ३ हजार वर्ष अगाडीको नेवा सभ्यता विनास गर्न खोज्ने सरकारको कामका विरुद्ध धान रोपेर विरोध गरिएको उनको भनाई छ ।
बाहिरी चक्रपथ, काठमाडौँ तराई द्रुतमार्ग र मातातीर्थ-भक्तपुर १३२ केभी प्रसारणलाईन खोकना हुँदै बनाउने योजना सरकारले अघि सारेपछि खोकनाका स्थानीयले विरोध गरिरहेका छन् । सांस्कृति सम्पदाहरुमाथि विकासका नाममा विनास गर्न नहुने भन्दै स्थानीय विरोधमा उत्रेका हुन् । तर, सरकारले सोहि बस्ती हुँदै फास्ट ट्रयाक निर्माणको योजना अघि सारिसकेको छ ।