साढे २२ केजी चरेस सहित बुटवलबाट २ जना पक्राउ

Crime

बुटवल उपमहानगरपालिका–१२ हरियाटोलबाट साढे २२ केजी चरेस सहित २ जना पक्राउ परेका छन् । ५ नम्बर प्रदेश प्रहरी कार्यालयको विशेष टोलीले सोमबार हरियाटोलमा बस्ने धन बहादुर दमाईको खाली घर खानतलासी गर्दा लुकाइछिपाइ राखेको उक्त लागूऔषध बरामद गरेको हो ।

लागूऔषध चरेससहित गुल्मी मदानेका २९ वर्षीय मेघराज गिरी र रुकुम सिस्नेका ३५ वर्षीय रतिभान दमाईलाई पक्राउ गरी हिरासतमा लिइएको प्रदेश ५ का प्रहरी प्रमुख रवीन्द्र धानुकले जानकारी दिए । बरामद चरेसको बजार मुल्य अन्दाजी ८ करोड रहेको उनले बताए । तस्करीका लागि लुकाएर राखिएको चरेस बरामद गरेसँगै तस्करीमा अन्य व्यक्तिहरुको पनि संलग्नता रहेको पाइएको र उनीहरुको खोजीकार्य भइरहेको धानुकले बताए ।

प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ । यस्तै आइतबार ५ नम्बर प्रदेश प्रहरी कार्यालयको विशेष टोलीले टाटे बाघको छाला र हड्डी समेत बरामद गरेको छ । बाँके राप्तीसोनाका ४६ वर्षीय नवराज घर्तीमगरले मकैबारीमा लुकाएर राखेको बाघको छाला र हड्डी बरामद गरेको एसएसपी बैदवारले जानकारी दिए ।