नेपालमा चैतदेखि जेठसम्मको समय अर्थात् वर्षा सुरु हुनुभन्दा अघिको प्रि–मनसुनमा धेरै चट्याङ पर्ने गरेको छ । नेपालमा हुने प्राकृतिक विपद्मध्ये चट्याङका कारण भूकम्पपछि सबैभन्दा बढी मानिसको मृत्यु हुने गरेको पाइन्छ । यसबेला चट्याङको सम्भावित जोखिमबाट बच्नका लागि केही सावधानी अपनाउन आवश्यक हुन्छ ।
वर्षा सुरू भएसँगै नेपालमा प्राकृतिक विपत्तिका घटनाहरू बढ्ने गरेका छन् । नेपालमा वर्षैनि ५४० वटाजति प्राकृतिक प्रकोपहरू आउँछन्, जसको १५ प्रतिशत हिस्सा चट्याङले ओगटेको छ । गएको बुधबार एकैदिनमा चट्याङले सात जनाको ज्यान लियो । सप्तरीमा चार, मोरङ, उदयपुर र कपिलवस्तुमा एक एक गरी एकै दिन यति धेरै मानिसले चट्याङ लागेर ज्यान गुमाए । गृह मन्त्रालयको तथ्याङ्कअनुसार २०७७ साल शुरू भएयता करीब साढे दुई महीनाको अवधिमा मात्र नेपालमा चट्याङ लागेर ४० जनाको मृत्यु भइसकेको छ । १ सय ३२ जना घाइते भएका छन् । प्राकृतिक प्रकोप भएपनि विकसित मुलुकको अभ्यास हेर्दा चट्याङको प्रकोपबाट हुने मानवीय र भौतिक क्षति केही हदसम्म रोक्ने गरेको देखिन्छ । तर नेपालमा चट्याङको बारेमा अनुमान र क्षति रोक्ने कार्य प्राथमिकतामा नपर्दा जोखिम बढिरहेको चट्याङविद् डा.श्रीराम शर्मा बताउँछन् ।
घर सुरक्षित छ भने खेतबारीमा काम गर्ने मानिस चट्याङको आवाज आउनेबितिकै घर आएर बस्दा सुरक्षित हुन सकिने विज्ञहरु बताउँछन् । खेतबारीमा काम गर्ने मानिस त्यस्तो बेला रुखमुनि ओत लागेर बसेको पाइन्छ । तर त्यसो गर्दा धेरै जोखिम हुन्छ । त्यसैले घरमाथि तामा वा पाताको त्रिशूल राखेर वा तामाको रडलाई जिआइ पाता वा आल्मुनियमको पाताले मोडेर जमिनसम्म पु-याएर गाडदियो भने जोगिने चट्याङविद् डा. श्रीराम शर्मा बताउँछन् । प्राकृतिक प्रकोप भएकाले चट्याङ रोक्न सकिँदैन तर त्यसबाट बच्ने उपाय भने खोज्न सकिन्छ । चट्याङ परेको समयमा अग्लो ठाउँ वा अग्ला टावरको नजिक नबस्न र अग्ला रुखमुनि ओत नलाग्न विज्ञहरुको सुझाव छ । प्रायजसो जमीन र बादलको दुरी कम भइरहने पहाडी भूभागमा विशेष सजग रहनुपर्ने विज्ञहरु बताउँछन् ।