अज्ञात समूहले खानेपानी योजना भत्कायो, पहिरोले स्वास्थ्य केन्द्रमा क्षति

News

डिलाशैनी गाउँपालिका–३ को निर्माणाधीन अलैंची चोधार खानेपानी योजना अज्ञात समूहले भत्काएको छ । १२ लाखको लागतमा निर्माण हुन लागेको खानेपानी योजनाको पाइप गएराति काटेको र इन्टेक भत्काइएको अवस्था छ। खानेपानी योजना निर्माण समितिका अध्यक्ष पार्वती नेगीका अनुसार योजनामा क्षति पुर्‍याउनेको नाममा किटानी जाहेरी दिने तयारी भइरहेको छ। ‘राति ठूलै समूह आएर खानेपानी योजनामा क्षति पुर्‍याए।’ उनका अनुसार २४ सय मिटर पाइप काटिएको, सिमेन्टमा क्षति पुर्‍याइएको र अन्य औजार पनि हराएका छन्। यता जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले यसबारे खबर आएको र प्रहरीको टोली त्यसतर्फ पुगेर फर्केको बताए। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको करिब १२ लाख लागतमा सो योजना निर्माणको अन्तिम चरणमा छ। स्वास्थ्य केन्द्रको भवनमा पहिरोले क्षति लगातारको वर्षाले बैतडीको सुर्नया गाउँपालिका–८ मा निर्माणाधीन सामुदायिक स्वास्थ्य केन्द्र पनि पहिरोले क्षति पुर्‍याएको छ । ३७ लाख लागतमा उदयदेव भूमिराज निर्माण सेवा कम्पनीले निर्माण गरिरहेको स्वास्थ्य केन्द्रमा पहिरोले क्षति पुगेको वडा नं ८ का अध्यक्ष आनन्दसिंह बोहराले बताए। पहिरोले निर्माणाधीन भवनमा १५ लाख रुपैयाँ बढीको क्षति भएको अनुमान गरिएको छ। पहिरोले त्यहाँका १५ घरजति जोखिममा समेत परेका वडाध्यक्ष बोहराले जानकारी दिए।