बाढीले मध्यभोटेकोशी हाइड्रोमा क्षति

बुधबार राति सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आएको बाढीले मध्यभोटेकोशी जलविद्युत् आयोजना क्षेत्र डुबानमा परेको छ ।

निर्माणाधीन १०२ मेगावाटको सो हाइड्रोपावरमा अर्बौंको क्षति पुगेको छ । एक जना चिनियाँ प्राविधिक बेपत्ता भएको आयोजना प्रमुख सुनिलकुमार लामाले जानकारी दिनुभयो । आयोजनाका लागि आवश्यक उपकरण राख्ने गरिएको भण्डार केन्द्रसमेत बाढीले क्षतिग्रस्त पारेको छ ।

उहाँले भन्नुभयो, “आयोजनाका लागि तीन वटा टर्बाइन रनर, जीआइएस र जिटी (जेनेरेटर ट्रान्सफर्मर) बाहेक सबै उपकरण ल्याएर त्यहाँ राखिएको थियो । ती सबै बाढीले बगाएको अनुमान छ । ”

बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले आयोजनामा व्यापक क्षति भएको बताउनुभयो । “ड्याममा क्षति भएको छ । पावर हाउसमा पहिरो गएको छ । आयोजनाका सामान राखेको गोदाम केही बगाएको छ भने केही पुरिएको छ”, उहाँले भन्नुभयो । मध्यभोटेकोशी आयोजनामा पुरिएका सामान क्रेनले निकाल्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

बाढीमा परी घाइते भएका सविता बस्नेत र सुवेश तामाङलाई कैलाश एयरमार्फत काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । घाइते फुर्वा तामाङ र अर्का १० दिने शिशुलाई माउन्टेन एयरको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँको ह्याम्स अस्पताल लगिएको उहाँले बताउनुभभयो ।*