भारतीय गुप्तचर निकायका प्रमुख नेपाल केन्द्रित

News

भारतले आफ्ना गुप्तचर निकायका प्रमुख सहित पुरै शक्तिलाई नेपालमा परिचालन गरेको खुलेको छ। नेशनल सेक्युरिटी एजेन्सी, रिसर्च एण्ड एनालाइसिस विङ्ग (रअ) र इन्जिटेलेजन्स ब्यूरो (आइबी) का प्रमुखहरु नै नेपाल आएको नेपाली सैनिक स्रोतले जानकारी दिएको छ। भारतीय मिडिया द पायोनियरले पनि खुफिया संस्थाका प्रमुखहरु नेपालमा रहेको उल्लेख गरेको छ। नेपालको गुप्तचर स्रोतका अनुसार गत शनिबारदेखि नै भारतका खुफिया एजेन्सीका प्रमुख र कर्मचारीहरु सडकमार्ग हुँदै नेपाल भित्रिएका थिए।

भारतीय खुफिया एजेन्सीको बाक्लो उपस्थितिसँगै सोमबारदेखि नै प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षामा थप कडाई गरिएको छ। ओलीमाथि ‘थ्रेट बढेको’ भन्दै सुरक्षा निकायले सतर्कता बढाएका हुन्‌। यसबीचमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले प्रधानमन्त्रीको सुरक्षाका लागि आन्तरिक सुरक्षा रणनीति नै बनाएर लागु गरिसकेको छ। प्रधानमन्त्री ओलीमाथि सुरक्षा ‘थ्रेट’, सुरक्षा बढाइयो परिस्थितिलाई ध्यानमा राखेर’ सुक्ष्म सुरक्षा रणनीति अवलम्बन गरेको जनाएको सुरक्षा निकायले प्रधानमन्त्रीलाई पूर्व निर्धारित कार्यक्रम स्थगित गर्न समेत सुझाव दिएको छ। ओलीलाई सकभर कुनै पनि कार्यक्रममा नजान सुरक्षा निकायले सुझाएका छन्‌। ​पार्टीभित्र विवाद बढेपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न तारान्तार शीतल निवास धाउने गरेका प्रधानमन्त्रीका लागि रुट नै एकीन गरेर सुरक्षा योजना तयार पारिएको छ। भारतीय गुप्तचरले काठमाडौंमा सक्रियता बढाए लगत्तै गत साता सबै सुरक्षा निकायका अधिकारीहरूको समन्वयात्मक बैठक समेत बसेको थियो। उक्त बैठकले प्रधानमन्त्रीलाई आन्तरिक तथा बाह्य सुरक्षा जोखिमबाट जोगाउन सुरक्षा परिचालन थप मजबुत बनाउने निर्णय गरेको थियो। सो बैठकपछि सडकमा सुरक्षाकर्मीको संख्या बढाइएको छ भने प्रधानमन्त्रीको सवारी र निवास तथा कार्यालयमा खटिने सुरक्षाकर्मीको हतियार समेत जाँच गरिएको छ।

​रअ प्रमुख समन्तकुमार गोयल, आइबी प्रमुख अरविन्द कुमारलगायत गुप्चतर प्रमुखहरू यतिखेर नेपालमै रहेको बुझिएको छ। ​ ​शनिबार रातिदेखि नै नेपाल आउन थालेका भारतीय गुप्तचरहरू सुरूमा सोल्टी होटलमा बसेको, तर ‘एक्स्पोज’ भएपछि द्वारिकाज, भिभान्ता र मेरियट होटलमा पुगेका खबर यसअघि नै सार्वजनिक भएका थिए। ​बत्तिसपुतलीस्थित द्वारिकाज होटल निकै अघिदेखि भारतीय गुप्तचर र कुटनीतिज्ञहरूको रोजाइमा पर्ने गरेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पाँच दिनअघि (असार १९) गते चीनसँगको विवादित सीमाक्षेत्र लद्दाख पुगेका थिए। मोदीको लद्दाख यात्रामा भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने र चीफ अफ डिफेन्स स्टाफ विपिन रावतलगायत सहभागी थिए। गत शुक्रबार बिहानै मोदी लद्दाखको राजधानी लेह पुगे पनि सो भ्रमणमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल सहभागी थिएनन्‌। त्यस टोलीमा डोभाल संलग्न नभएपछि विभिन्न आशंका गरिएको थियो। मोदी लद्दाख पुगेको भोलिपल्ट (शनिबार) बेलुकी नै भारतीय गुप्तचर निकायमा प्रमुखहरू नेपालतर्फ लागेका थिए। डोभाल स्वयम् नेपाल आएको भनिए पनि यसबारे पुष्टि भइसकेको छैन। तर रअ र आइबीका प्रमुखद्वय बिहीबार बेलुकीसम्म नेपालको सीमाभित्रै रहेको जानकारी नेपाली सेनाले समेत लिएको छ।

सन् २०१५ मा भारतले लगाएको नाकाबन्दीका बेला प्रधानमन्त्री बनेदेखि नै ओलीप्रति असहिष्णु बनेको भारतले यो पटक उनैलाई प्रधानमन्त्री पदबाटै हटाउन कोशिस गरेको बुझिएको छ। ओलीले मदन भण्डारीको ६९‍‍‍ औं जन्मजयन्ती कार्यक्रममा नै आफूलाई पदबाट हटाउन देशी-विदेशी शक्ति हाबी भएको दावी गरेका थिए। स्थायी कमिटी बैठकमा राजीनामा मागिएपछि ओलीले यस्तो अभिव्यक्ति दिएका थिए। तर, नेपालमा भारतीय गुप्तचरहरूको सक्रियता देखिएसँगै यसबारे प्रधानमन्त्री ओली पहिले नै जानकार रहेको देखिएको छ।

भारतद्वारा अतिक्रमित नेपालको नयाँ नक्सा जारी गरेपछि झनै चिढिएको भारतले ओलीलाई सत्ताबाट हटाउन कोसिस गरिरहेको भनिएको छ। तर चीन त्यसको ठीक विपरीत उभिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बुधबार फेसबुकमा लेख्दै भारत र चीनबीच काठमाडौंमा रस्साकस्सी चलिरहेको संकेत गरेका थिए। त्यस स्टाटसमा उनले ​नेपालीलाई फुटाउने, नाकाबन्दी लगाउने भारतभन्दा एकता बनाउने चीन नै ठीक भनेजस्तो आशय व्यक्त गरेका थिए। नेकपाभित्र विवाद बढ्दै गएपछि चिनियाँ राजदूत होउ यान्छीले यो बीचमा निकै सक्रियता बढाएकी छन्‌। यान्छीले गत सोमबार पूर्वप्रधानमन्त्री एवम् नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल र मंगलबार झलनाथ खनालसँग भेट गरेकी थिइन्।​​ यान्छीले नेकपाका नेताहरूसँग भेटेलगत्तै भारतको समर्थन गर्ने भनिएका केही संस्थाका व्यक्तिहरू चिनियाँ दूतावासअघि विरोधका लागि पुगेका थिए। ​ यसअघि वैशाखमा नेकपाभित्र देखिएको विवाद पनि यान्छीकै सक्रियतामा मत्थर भएको थियो। नेपालको आन्तरिक मामिलामा सुक्ष्म व्यवस्थापन गर्दै आए पनि ओली प्रधानमन्त्री भएसँगै कमजोर बनेको र चीन हाबी भएको नयाँ दिल्लीको बुझाइ भारतीय मिडियाबाट प्रकट भइरहेको छ। केही भारतीय न्युज च्यानलहरूले त प्रधानमन्त्री ओली र चिनियाँ राजदूत यान्छीलाई लिएर आपत्तिजनक सामग्रीहरूसमेत प्रकाशन/प्रसारण गरिरहेका छन्।