जाजरकोटको बारेकोट गाउँपालिका–४, जिरीको सार्कीटोलमा गएको पहिरोले दुई घर बगाउँदा बेपत्ता भएका १२ जना मध्ये सात जनाको शव भेटिएको छ । अझै पाँच जना बेपत्ता छन् ।
गयरातिको वर्षासँगै आएको पहिरोले घर बगाउँदा बेपत्ता भएका ५२ वर्षीया गोपाल सार्की, १८ वर्षीय वीरेन्द्र सार्की, ११ वर्षीय अर्जुन सार्की र २० वर्षीय डिल्ली सार्कीको शव भेटिएको प्रहरीले बताएको छ । शव भेटिएकामध्ये थप एकजनाको सनाखत हुन बाँकी छ ।
सुरक्षाकर्मी र स्थानीयको पहलमा खोजी कार्य जारी रहेको घटनास्थल पुगेका एक प्रहरीले बताएका छन् । अहिले मुसलधारे वर्षात् भइरहेकाले उद्धार र खोजी कार्यमा कठिनाइ भएको उनले बताए ।
पहिरोले बारेकोटका विभिन्न क्षेत्र जोखिममा परेका छन् । बारेकोट-५ को तोल्खान, कालाखोली, भैलोखान, वडा नम्बर ४ को गोठगाउँ, जिरी मैनाका पूरै वस्ती जोखिममा रहेको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनु भयो ।
अध्यक्ष शाहको घर भएको टोल पनि जोखिममा परेको छ । सोहि क्षेत्रका स्थानीयवासी नजिकैको विद्यालयमा बसिरहेको अध्यक्ष शाह बताउनु भयो ।बारेकोटका विभिन्न क्षेत्रका बाटो तथा पुलसमेत पहिरोले भत्काएको उहाँले बताउनु भयो ।